काठमाडौँ, असोज ३० गते । मानव बेचबिखन न्यूनीकरणका लागि सरकारी विकासका साझेदार संस्थाहरूबिच समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिइएको छ । मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरूको छाता सङ्गठन एटविनले राजधानीमा आयोजित “मानव बेचबिखन न्यूनीकरणमा सरकारी निकायको भूमिका” विषयक कार्यक्रममा सहभागी वक्ताहरूले सभ्य समाजका लागि चुनौती बन्दै गएको मानव बेचबिखनलगायतका घटना न्यूनीकरणका लागि सहकार्य नै विशेष उपाय हुन सक्ने सुझाव दिनुभएको हो ।
एटविनका उपाध्यक्ष चरीमाया तामाङले मानव बेचबिखनको घटना न्यूनीकरण नभई झनै विविधता थपिएको बताउनुभयो । उहाँले मानव बेचबिखन हुने कारण र भइरहेको छ भन्ने जानकारी सबैलाई छ तर अब यसको समाधानको विषयमा ठोस छलफल हुनुपर्यो भन्दै सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालबालिका बेचबिखनको सन्दर्भमा आन्तरिक र भारतसम्म पुर्याउने घटना बढी दोहोरी रहेको र परिषद्ले विभिन्न संस्थासँगको समन्वयमा उद्धार र पुनर्स्थापना लागि काम गरिरहेको बताउनुभयो ।
एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरुङले मानव बेचबिखनको न्यूनीकरणका लागि सरकारी निकायले सम्बोधन गर्नुपर्ने सवालबारे चर्चा गर्दै मानव बेचबिखनबाट प्रभावित, महिला/पुरुष र बालबालिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले विगतमा महिला मात्र बेचिन्छन्, भन्ने सोच थियो भने हाल श्रम शोषण, मानव अङ्ग झिक्नका लागि पुरुष र बालबालिका पनि मानव बेचबिखनमा पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“मानव बेचबिखनमा पर्नु भनेको यौन शोषणका लागि मात्र बुझ्ने सोचमा अब परिवर्तन आउनुपर्छ, हाम्रो देशमा रोजगारीको अभावका कारण रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाएर कम वा विना पारिश्रमिक काममा लगाउनु पनि बेचबिखन नै हो तर पुरुषले आफू बेचिए भन्न हिचकिचाउने कारणले उजुरी दिनेहरूमा महिला नै बढी देखिएको हो ।” उहाँले लाखौँ जनालाई स्वदेशमै रोजगारी दिइरहेको रात्रिकालीन व्यवसायलाई बन्द होइन, व्यवस्थित र मर्यादित बनाउने एटविनको लक्ष्य हो भन्नुभयो ।
सो अवसरमा एटविनका अध्यक्ष तारा भण्डारीले सीमा पारी र वैदेशिक रोजगारीमा जाँदा मात्र बेचबिखनको जोखिममा पर्ने होइन, राजधानीलगायतका ठुला सहरमा आन्तरिक बेचबिखनको जोखिम बढेको बताउनुभयो । घरको आर्थिक अवस्था कमजोर हुनु, प्राकृतिक विपत्तिका कारण घर, खेत नष्ट हुनु, गरिबीले पार्ने असरका कारण पढ्न नपाउनु र पढे पनि पढाई र सिपअनुसारको रोजगारीको सिर्जना नहुँदा मानव बेचबिखनको घटनामा वृद्धि हुने कारणहरू मानव बेचबिखनको रहेको उहाँको भनाइ छ ।
महिलाका लागि महिला मञ्च नेपालका परामर्शदाताको रूपमा कार्यरत भिमा सुवेदीले रात्रिकालीन व्यवसायमा रोजगारी गर्नुलाई समाजले मान्यता दिनुपर्ने र उहाँले जुनसुकै पेसा व्यवसाय आफैँमा खराब हुन्न, काम गर्ने समय मात्र फरक हो, भन्दै कामको सम्मानका लागि पहल हुनुपर्ने बताउनुभयो ।
विश्वास प्रेरणा राष्ट्रिय सञ्जालका महासचिव शर्मिला बस्नेतले दोहोरी रेष्टुरेण्टलगायतका स्थानमा गाउँदा राम्रो शब्द चयन र मौलिक संस्कृतिमा जगेर्नामा जोड दिनुभयो । एटविनले रात्रिकालीन व्यवसायीहरूसँग पनि मानव बेचबिखन नियन्त्रण तथा मनोरञ्जन क्षेत्रलाई व्यवस्थित बनाउन निजी क्षेत्रका भूमिका शीर्षकमा संवाद कार्यक्रम सम्पन्न गरेको छ । उहाँले कलाको प्रस्तुति जहाँ गरे पनि त्यत्तिकै सम्मान पाउनुपर्ने मान्यतालाई कायम राख्न दोहोरी रेष्टुरेन्ट व्यवसायी र कलाकारको सहमति र समन्वय भए त्यहाँ आउने सेवा ग्राही पनि मर्यादामा रहने विश्वास व्यक्त गर्नुभयो ।