• १७ असार २०८२, मङ्गलबार

पुरुषोदय माविका विद्यार्थी सिक्दै कमाउँदै

blog

पुरुषोदय माध्यमिक विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत टनेलभित्र उत्पादन गरिएको गोलभेंडा खेतीबारे छलफल गर्दै विद्यार्थीहरु । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) जेठ २६ गते ।
बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरमा रहेको पुरुषोदय माध्यमिक विद्यालयका प्राविधिक शिक्षाका लागि परिचित छ । कृषि पढाई हुने यस विद्यालयमा विभिन्न जातका तरकारी, माछा, कुखुरा, बङ्गुर, कागतीलगायतका कृषि सामग्री उत्पादन गरिन्छ ।

सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत यहाँ अध्ययनरत विद्यार्थीले कृषि सामग्री उत्पादन गरी बिक्री गर्दछन् । यसले विद्यार्थीमा सिकाइसँगै व्यवसायी बन्न सहयोग पुर्याएको छ ।

विद्यालयमा अध्ययनरत सबिन क्षेत्री पढ्दै कृषि सिक्न पाउँदा खुसी लागेको बताउनुभयो । ‘‘हामीले यहाँ पढ्दै कृषि सिक्न पाएका छौँ, यसबाट खुसी लागेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘पढ्दै गर्दा सिप पनि सिकेका छौँ, यसले राम्रो भविष्यका लागि सहयोग पुर्याएको छ भन्ने लाग्छ ।’’

यहाँ बिउ बैङ्क पनि सञ्चालनमा ल्याइएको छ । लोपोन्मुख अवस्थामा रहेका बालीहरुको बिउ संरक्षण गर्ने उद्देश्यले बिउ बैङ्क सञ्चालना ल्याइएको हो ।

कृषितर्फका सहायक प्रशिक्षक सुमन ओलीले कृषि बैङ्क देखाउँदै भन्नुभयो, ‘‘यहाँ लोपोन्मुख अवस्थामा रहेका बिउको संरक्षण गरिएको छ ।’’

यहाँ उत्पादित कृषिजन्य सामग्री बिक्रीका लागि बजारको अभाव नभएको शिक्षकको भनाइ छ । विद्यालयले कृषि प्राविधिक शिक्षालाई समुदायसँग पनि जोड्ने प्रयत्न गरेको छ ।

वरिष्ठ कृषि प्रशिक्षक बिमल खड्काले प्राविधिक शिक्षालाई समुदायसँग जोड्न प्रत्येक घर परिवारलाई टनेलको व्यवस्था गर्ने बताउनुभयो । यसले कृषि तर्फ विद्यार्थी र अभिभावकलाई आकर्षित गरेको बताउनुभयो ।

विद्यार्थी डोलबहादुर थापाले बङ्गुर पालन गर्दा ध्यान दिनुपर्ने विषय, बङ्गुरमा लाग्न सक्ने रोग, यसको बजारको अवस्थाको बारेमा जानकारी भएको र विद्यार्थीको सिकाइलाई गुणस्तरीय बनाउन बरेङ गाउँपालिकाले  पनि राम्रो सहयोग पुर्याउँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा आर्थिक रुपमा विपन्न र टाढाबाट आउने विद्यार्थीलाई होस्टेलको व्यवस्था गरिएको छ । यसले पढाईमा ठुलो सहयोग पुर्याएको छ ।’’

पालिकाको अनुदानमा लेयर्स जातका कुखुरा पालिएको छ । यसबाट विद्यार्थीले कुखुरापालनसम्बन्धी ज्ञान सिप हासिल गर्नुका साथै विद्यालयबाट पढाई सकिदा साथ उद्यमी र व्यवसायी बन्ने शिक्षकको विश्वास छ ।

शिक्षक ढाचानन्द बर्माले सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक सिकाइ हुने बताउनुभयो । ‘‘सिकाइ प्रभावकारी बनाउन हामीले प्रयोगात्मकलाई बढी ध्यान दिएका छौँ ।’’ उहाँले भन्नुभयो, ‘‘प्रयोगात्मक सिकाइले गर्दा विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको बतानुभयो ।’’

विद्यालयका प्रधानाध्यापक मनबहादुर श्रीषले विद्यालयले पाँच रोपनी जग्गा भाडामा र आफ्नै चार रोपनी गरी ९ रोपनीमा कृषि गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले बिउको रुपमा केही पैसा राख्छौँ, अन्य विद्यार्थीको सिकाइ र विद्यार्थीले नै आम्दानी गर्दछन् । यसबाट विद्यार्थी पनि सन्तुष्ट छन् ।’’

विद्यालयले गरेको कार्यबाट बरेङ गाउँपालिका उत्साहित बनेको छ । विद्यालयको उदाहरणीय कार्यले शैक्षिक गुणस्तर वृद्धिका साथै स्वावलम्बी बन्न सघाउने अपेक्षा राखेको बताउनुभयो ।

यस विद्यालयमा २१७ जना विद्यार्थी रहेकोमा ८८ जना प्राविधिक विषयमा अध्ययनरत भएको र गत वर्ष ६ लाख रुपियाँको कृषि सामग्री बिक्री गरेको थियो ।