गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २७ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनुभएको छ ।
स्विट्जरल्यान्डको जेनेभामा आयोजित ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालले गरेको पछिल्ला सुधार प्रस्तुत गर्नुभयो । अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरबारे विश्व समुदायलाई जानकारी गराउनुभयो ।
नेपालमा रोजगारदाताको संस्थाका रूपमा रहेको महासङ्घका अध्यक्ष ढकालले नीतिगत सुधारसँगै नेपालको भौगर्भिक विविधता एवं भौगोलिक अवस्थितिले लगानीको पर्याप्त अवसर रहेको जानकारी गराउनुभयो ।
महासङ्घको आग्रहमा करिब ३० वटा लगानी सम्बद्ध कानुनमा परिमार्जन गरिएको र द्विपक्षीय लगानी सम्झौताको खाका तयार भएको जानकारी गराउँदै अध्यक्ष ढकालले नेपालमा अवसर खोज्न सहभागीलाई आग्रह गर्नुभयो ।
“नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको छ,” उहाँले भन्नुभयो, “तर पनि भारत, चीनलगायतका मुलुकमा नेपाली उत्पादनको भन्साररहित सुविधा कायमै रहने हुँदा नेपालमा थप अवसर कायमै रहने छ ।” उहाँले नेपालको भौगोलिक अवस्थितिका कारण कृषिजन्य उत्पादन, जलविद्युत्, पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना र अवसर रहेको बताउनुभयो ।
नेपालको अर्थतन्त्रको औचारिकीकरणका लागि महासङ्घ, ट्रेड युनियन र सरकारले समिति बनाएर काम गरिरहेको अध्यक्ष ढकालले बताउनुभयो । यस्तै अध्यक्ष ढकालले प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र जलवायु वित्तमा अन्तर्राष्ट्रिय सहभागिताका लागि आग्रह गर्नुभयो ।
सम्मेलनमा विश्वका करिब १८७ मुलुकका सरकार, रोजगारदाता एवं ट्रेड युनियनका प्रतिनिधि सहभागी छन् ।