• २७ जेठ २०८२, मङ्गलबार

गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा

blog

जेनेभा, जेठ २७ गते । रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले डेढ वर्षभन्दा बढी समयदेखि प्यालेस्टिनीहरू विरुद्ध इजरायली कब्जाले गरेको नरसंहारको एक हिस्साका रूपमा गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा रहेको चेतावनी दिएको छ ।

एक विज्ञप्ति जारी गर्दै आइसिआरसीले अधिकांश घाइते प्यालेस्टिनीहरू सहायता वितरण केन्द्रमा पुग्ने प्रयास गरिरहेको बताएको छ ।

आइसिआरसीले विगत केही दिनदेखि गाजामा सीमित स्रोत साधनका बिच सञ्चालन भइरहेको केही अस्पताल वरपर आक्रमण बढेकाले स्वास्थ्य सेवा सुविधाहरूको संरक्षणका लागि थप ज्यान गुमाउन बाट जोगिन आह्वान गरेको छ ।

यसले चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरूले जीवन बचाउन ठुलो चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र अस्पतालको सञ्चालन खतरामा पारेको कुरामा जोड दिएको छ ।

ठुलो सङ्ख्यामा घाइते बिरामीहरूको आगमनले मेडिकल स्टाफलाई थकित पारेको समितिले पुष्टि गरेको छ ।  

पछिल्लो दुई हप्तामा रफाहको आइसिआरसी फिल्ड अस्पतालमा प्राप्त बिरामीहरूको सङ्ख्या नौ सय १६ भन्दा बढी छ । तीमध्ये ४१ जनालाई आइपुगेपछि मृत घोषणा गरिएको थियो । रासस/एएफपी