धेरैको मन जित्नुभएको रहेछ, पशुपति आर्यघाटमा उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन लामबद्ध लामले त्यसै भन्थ्यो । साहित्य, संस्कृति क्षेत्रका मात्र होइन राजनीति, प्रशासन, समाजसेवा र व्यापार व्यवसाय, गायन र सङ्गीत, आफन्त र शुभेच्छुकको भिडले गणेश रसिकको व्यक्तित्वको विविध पाटा झल्किन्छ । धेरैको मन जित्न सक्ने मान्छे रोगलाई चाहिँ जित्नै नसकी २०८२ जेठ १८ गते यो धराबाट बिदा हुनुभयो –
कति दिन बाँच्नु यो हुस्सुले छोपेको सहरमा
यो हुस्सु फाट्दा सायद म मरिसकेको हुन्छु
यहाँ घाम लाग्दा सायद म डढिसकेको हुन्छु
मेरा आफन्तले मलाई न्यानो दिन खोज्दा
सायद म हिउँ भई जमिसकेको हुन्छु ।
उहाँको यो गीतले भने जस्तै क्यान्सर जस्तो कडा रोगबाट पीडित बनेर यो सहरमा ७८ वर्षको उमेरसम्म मात्र बाँच्नुभयो । आफू बाँचेको उमेरमै पीडाका अनेकौँ कहालिलाग्दो दृश्य देखेर, भोगेर, पीडाका आँसु पिएर पनि सिर्जना र साधनामा समय दिन सक्ने मान्छे । आँखैअगाडि आत्महत्या, दुर्घटना र हत्याका कारण तीन÷तीन जना भाइ–भतिजालाई गुमाउनुपर्दाको पीडा, कलिलो उमेरमै संसार छाड्ने छोराको अभाव, जीवनको सहारा र सर्वस्व सुम्पिएकी श्रीमती (नीरा रसिक) सबका सबलाई गुमाउँदै गुमाउँदै बल्ल अलि समालिएको मनलाई चार वर्षदेखि देखिएको क्यान्सर जस्तो रोगले सताएपछि उहाँलाई भन्न पनि मन लाग्दो हो, के भएको हो जीवनमा दुःख जति खेप्ने ठेक्का चाहिँ मैले नै पाएको रहेछु –
हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ
उहाँकै गीत जस्तै रोग र जीवन बाँच्ने क्रममा आइपरेका अनेकौँ समस्यासँग डटेर लड्दै जीवनको ७८ वर्षको उमेरसम्म आइपुगेपछि हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा जीवनको अन्तिम सास फेर्दा पनि उहाँकै गीत स्मरण गर्न पुगियोे–
घरबेटी नानी आँगनमा देउन मलाई बास .....
उहाँको पार्थिव शरीरलाई हेरेर देखेर धेरैले बैकुण्ठबास होस् भनेर कामना गरेको पनि सुनियो । भोजपुरमा जन्मिएर जीवनको उर्वर समय त्यतै बिताएर बाबुबाजेले राखिदिएको नाम गणेश राईलाई एकातिर राखेर आफैँलाई चिनाएको नाम गणेश रसिक बनेर इलाम, काठमाडौँ गर्दै बितेको जीवनबाट थकाइ मार्नसम्म नपाएको जीवन बाँच्न र पीडा खेप्दैमा बित्यो । पछिल्ला केही वर्ष त उहाँको जीवन क्यान्सर अस्पताल हरिसिद्धि र बालकोटस्थित आफ्नै घर आउ जाउमै बितेसरह बन्न पुग्यो । अस्पतालको शय्यामा बसेर आफ्नै अतीत सम्झेर कति पटक आफ्नै गीत पनि गुनगुनाउन पुग्नुभयो होला–
मेरो अतीतलाई कहाँ भेटूँ कहाँ.......
गणेश रसिकको यो सम्झना, उहाँप्रति देखाइएको श्रद्धाभाव र लामबद्ध श्रद्धालुहरू उहाँको योगदान र स्वभावलाई सम्झिनेहरू प्रायः थिए । आठ दशकको उमेर पनि टेक्न नपाएको उमेर बाँचेर पनि विविध क्षेत्रमा छरिएर सक्रिय जीवन बाँचेकाले मात्र होइन एक से एक गीत, कविता, निबन्ध, संस्मरण, उपन्यास, कथा लेखेर साहित्य जगत्मा चिनिएको, गायन र सङ्गीतमा ठडिएको उहाँ धेरैका प्रिय हुनुहुन्थ्यो ।
कालो पाइन्ट, कालै सर्ट अनि कालै टोपीमा चटक्क परेर राष्ट्रिय नाचघरको महाप्रबन्धक हुँदादेखि देखेको, चिनेको भेटेको हो, उहाँलाई २०४४ सालमै । त्यतिबेलै डम्म परेको ज्यान, जिएम साब भएर, लेखेर ज्ञान भएको मान्छेको फ्यान भएको हुँ, म । उहाँले गाएका ‘रातो भाले क्वायँ क्वायँ’, ‘लहरा पहरा छहराको देश’, ‘घरबेटी नानी आँगनमा देउन मलाई बास’ जस्ता गीत ठुलो ठुलो स्वरमा गाउँदै पनि हिँडियो । पछि यही व्यक्तित्वलाई दौरासुरुवालमा कोट टल्काएर चिटिक्क परेर साझा प्रकाशनको अध्यक्ष, महाप्रबन्धक भएको बखत पनि देखेको हुँ, सङ्गीत एकेडेमीमा सदस्यसचिव बनेर सक्रिय भएको पनि त देखेकै हो, रत्न रेकर्डिङ संस्थानमा महाप्रबन्धक भएको बखत पनि भेटेकै हुँ, कृषक बनेर इलाममा आफ्नै खेतबारीमा श्रमको पसिना पुछ्दै गर्दाको बखत पनि भेटेकै हुँ, रेडियोकर्मी बनेर इलाममा चिनिँदा पनि चिनेको हुँ, राजनीतिमा लाग्ने शोख पालेर हिँड्ने मान्छे भनेर पनि चिनेकै हो उहाँलाई । मन नै चसक्क हुने निबन्ध र संस्मरण, मन छुने गीत कविता पनि पढेकै हुँ । गणेश रसिकलाई निरन्तर चार दशकदेखि देख्दै आएँ, पढ्दै आएँ, भेट्दै आएँ र त भन्न सक्छु एउटा सफल साधक, सशक्त सर्जक भएर पनि शालीनता र भद्रताको उत्तम उदाहरण बनेर चिनिनुभएको उहाँ । पहिले आक्कल झुक्कल देखिने, भेटिने मान्छे यता तीन दशकदेखि भेटिने र देखिने व्रmम बाक्लिएको थियो । साझा प्रकाशनको अध्यक्ष, महाप्रबन्धक उहाँ हुँदा संयोगले सञ्चालक समितिको सदस्य भएकाले पनि होला नेपालभित्र र बाहिर धेरै ठाउँमा उहाँसँग हिँड्ने अवसर पनि पाइयो । उहाँ अध्यक्ष बन्नुभएको वासुशशि स्मृति परिषद्सँग नजिकको साइनो भएकाले पनि होला आदरणीय गणेश रसिकसँग पछिल्ला वर्ष बढी निकट हुने समय जु¥यो । परिषद्का सचिव एवं कवि प्रद्युम्न जोशीको फोन आउनासाथ मैले बुझिहाल्थेँ र हतपत उहाँको साथ लागेर गणेश रसिक भर्ना गरिनुभएका अस्पताल पुग्ने व्रmम चलिरह्यो, उहाँको निवास बालकोट पनि पुग्ने क्रम बढिरह्यो । अस्पतालको शय्यामा पनि गणेश रसिक थाक्नुभएको देखिएन, योजना र भेटघाटका कार्यक्रम बन्थे । निकटकासँग बसेर गफ गर्ने, घुम्ने र क्रियाशील हुने उहाँको शोख र इच्छालाई रोगले साथ दिएन । यो क्रममै प्रद्युम्नजीको फोन आएपछि बुझिहालियो यस पटकको फोन नआएकै राम्रो भन्ने लागिहाल्यो । नराम्रो खबर छ... भन्नासाथ मैले भनिहालेँ, कति बजे...? यही समयबाट आरम्भ भयो नेपाली साहित्यले, सङ्गीत जगत्ले एक जना असल मान्छे गुमाएको दिन ।
विसं २००४ असोज ४ गते नौलागाउँ, भोजपुरमा जन्मिनुभएका गणेश रसिकले २० को दशकको आरम्भिक दिनमै कविता प्रकाशमा ल्याएर कविको छवि बनाउनुभयो । लेखनलाई फराकिलो पार्दै विविध विधा र क्षेत्रमा आफूलाई अगाडि बढाउनुभयो । उहाँले आफ्नै छविलाई उजिल्याउँदै लैजानुभयो । यही दशकको सुरुवाती दिनमा गीत सङ्गीतको क्षेत्रबाट अगाडि बढ्दै ‘क्षितिजलाई छुन खोज्दा’ कथासङ्ग्रह (२०२४) मा प्रकाशमा आयो उहाँको । ‘एउटा सारङ्गीभित्र’ कथासङ्ग्रह (२०२८), ‘बिलाउँदै गएको गीत’ कथासङ्ग्रह (२०५८), ‘रसिकका गीत’ गीतसङ्ग्रह (२०४५), ‘स्वाधीनताको पीडा’ गीतसङ्ग्रह (२०६८), ‘आकाशगङ्गाको ओतमुनि’ उपन्यास (२०४८) हुँदै अगाडि बढेको लेखन संस्मरण लेखन र त्यसको प्रकाशनसँगै चुलिन पुग्छ । ‘जब सिस्नुहरू टेक्दै हिँडे’ २०५५, ‘दसगजामा उभिएर’ २०६३, ‘पेरुङ्गो’ २०७८ जस्ता कृतिले गणेश रसिकलाई सफल निबन्धकारका रूपमा अझ व्यापक चर्चामा ल्याइदियो । लेकाली समूहसँग आबद्ध भएर गाउँदै हिँडेका दिन, पाँचौँ पिँढीसँग जोडिएर सक्रिय भएका दिन, चोइटा, छाया–हस्तलिखित, नेपाली संस्कृति, उपत्यका हुँदै सगरमाथा पाक्षिकसम्म सम्पादनको दायित्वले उहाँको व्यक्तित्वको अर्को पाटो झल्किन्छ ।
दुःख मात्र कहाँ हुन्छ र जीवनमा, यसबिच झुक्किएर भनौँ वा काकताली परेर सुखका शृङ्खला पनि त जोडिए । गाउँ ठाउँ, सहर बजार, देश विदेश जहाँ टेक्दा पनि मान्छेले देख्दा अदबका साथ भनेको सुनेको हुनु पर्छ, गणेश रसिक भनेको उहाँ नै हो । मान्छे देख्दा धारेहात लाउनेहरू बढ्दै गएको समाजमा अदबका साथ उठेका हात र झुकेका शिरले पक्कै पनि सुखद अनुभूति भएको हुनु पर्छ, उहाँलाई । अनि उहाँका गीत सुनेर वा पढेर उपन्यास र कथा पढेका अझ संस्मरणका कृति पढेर फ्यान भएकाहरूले आदर र सम्मान गर्दाका सुखद क्षण, प्राज्ञिक थलोमा अग्लो स्थानमा बसेर बिताएका वर्षहरू, लेकालीमा लाग्दै गाउँदै हिँड्दाका समय यतिखेर फिलिमका रिलझैँ रिबाइन्ड गर्दै सम्झने हो भने कम्ता रोमाञ्चक लाग्लान् र ? कुरा यति मात्र हो, कष्ट इष्ट बनेर पछि लाग्यो । सानै काँडाले बिझ्दाको दुःख त असहनीय हुन्छ, जीवनमा दुःखका धेरै काँडा बिझ्दै जाँदा पन्छाउँदै जाने आफ्नो वशको कुरो रहेन, सिवाय पीडा भोग्नुबाहेक –
मेरो अतीतलाई कहाँ भेटूँ कहाँ ....
उहाँकै गीत जस्तै गणेश रसिक विगत सम्झेर गुनगुनाइरहनु पनि भयो होला । जीवनका यी तमाम कुरालाई पन्छाएर हामीबाट ओझेल पर्नुभएका गणेश रसिक हाम्रा मन मस्तिष्कमा रहिरहनुहुने छ । आफ्ना कृति र सिर्जनामा पढिइरहने नाम बन्नुहुने छ, अनि मीठो स्वर र सङ्गीतमा गुञ्जिरहनुहुने छ । उहाँ त जानुभयो तर छाडेर जानुभएको छ यस्तै स्मृति र अनेकौँ कृति जसले उहाँलाई हामीमाझ सम्झाइरहने छ । हामी सम्झिरहने छौँ श्रद्धाका साथ । उहाँको गीतले भने जस्तै –
धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केही पनि छैन तिमीलाई दिएको मेरो माया ।