• ७ जेठ २०८१, सोमबार

ज्येष्ठ नागरिक ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक छ : सभामुख घिमिरे

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको सम्मान र मर्यादित जीवनका लागि ज्येष्ठ नागरिक ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ । ऐनको व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन नसकेको भन्नुहुँदै उहाँले त्यसका लागि राजनीतिक दल, सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । 

३३औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याण परिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा आज यहाँ आयोजित शताब्दी व्यक्तित्व  सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

ज्येष्ठ नागरिक समाजका अमूल्य निधि, ज्ञान र सीपका भण्डार भएकाले ज्येष्ठ नागरिकको सम्मान र मर्यादामा कसैले कन्जुस्याइँ गर्न नहुने उहाँले बताउनुभयो । भएको ऐनको कार्यान्वयन हुन नसकेका बेला उहाँहरूको धेरै अधिकार कार्यान्वयन हुन नसकेको भन्नुहुँदै उहाँले ऐनलाई समयानुकूल परिमार्जन गरी थप अधिकार सुनिश्चित गर्दैजानुपर्ने बताउनभयो ।  

समाजमा ज्येष्ठ नागरिकप्रति सम्मानभन्दा अपहेलना बढी भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै सभामुख घिमिरेले ज्येष्ठ नागरिकको सम्मानका लागि हरेक परिवार जिम्मेवार हुनुपर्ने बताउनुभयो । राज्यले पनि ज्येष्ठ नागरिकको सम्मानमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।  सो अवसरमा सभामुख घिमिरेले शताब्दी पुरुषहरू डा. गौरीशंकरलाल दास, टङ्कबहादुर थापा, चन्द्रबहादुर सुनुवार, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा र सानुमान शाक्यलाई सम्मानित गर्नुभयो । 

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा नेकपा (एमाले) की नेतृ डा. विमला राई पौडेलले ज्येष्ठ नागरिक सबै परिवारका लागि जिउँदो ईश्वर रहनुभएकाले उहाँहरूको संरक्षण र सम्मान गर्नुपर्ने सबैको दायित्व भएको बताउनुभयो । ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीपलाई सदुपयोग गरी उहाँहरूको सम्मानमा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । आफू आफ्नो आमाबाट ‘दुःखमा नआत्तिने र सुखमा नमात्तिने’ प्राप्त गरेको उहाँले चर्चा गर्नुभयो । विदेशमा छोराछोरीले आफ्नो बुवाआमालाई ढोग्ने प्रचलन नरहे पनि नेपालमा ढोग्ने सही संस्कार रहेकाले यसलाई जोगाउनुपर्ने बताउनुभयो । 

नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य बद्री पाण्डेले ज्येष्ठ नागरिकलाई घरैबाट सम्मानको सुरुवात गर्नुपर्ने र राज्यले पनि सामाजिक, आर्थिक र कानुनी रूपले सम्मान गर्न आवश्यक रहेको बताउनुभयो । ज्येष्ठ नागरिकको व्यवस्थापनको काम जटिल र चुनौतीपूर्ण भए पनि गर्नुको विकल्प नरहेको बताउनुभयो । ज्येष्ठ नागरिकका लागि निर्माण भएको ऐन समयानुकूल परिमार्जनको खाँचो रहेको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकले प्राप्त गरिरहेको सामाजिक सुरक्षा भत्तामा पनि समीक्षा गर्नुपर्नेबेला आएको उहाँले बताउनुभयो । 


शताब्दी पुरुष गौरीशंकरलाल दासले संविधान र ऐनले ज्येष्ठ नागरिकका विषयमा केही अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन कमजोर रहेको बताउनुभयो । भएको ऐनको अक्षरशः कार्यान्वयन र थप व्यवस्थाका लागि राज्य गम्भीर बन्नुपर्ने उहाँले सुझाव दिनुभयो ।  

ज्येष्ठ नागरिक महासङ्घका पूर्व अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले केही ज्येष्ठ नागरिकहरू अझै नागरिकता अभावमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित रहेकाले त्यसप्रति सरकार र राजनीतिक दल जिम्मेवार बन्नुपर्ने सुझाव दिनुभयो । ज्येष्ठ नागरिकप्रति केही सन्तानले दुर्व्यवहार गरी घरबाट निकाला गरी ज्येष्ठ ग्राममा पठाउने गरेको चर्चा गर्दै उहाँले घरको सही वातावरण निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । सो वातावरण बनाउन ज्येष्ठ नागरिक स्वयम् पनि सक्रिय रहनुपर्ने उहाँको सुझाव छ । 

एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई माया, सम्मान र सहयोगको सदैव खाँचो पर्ने हुनाले परिवारका सदस्य, समाज र सरकारले पनि सम्मानमा ध्यान दिनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकको मानसम्मानले उहाँहरूको बाँच्ने हौसला बढ्नेगरेको उहाँले बताउनुभयो ।  

कोषका सभापति वसन्तराज कार्कीले सबै ज्येष्ठ नागरिकलाई सरकार, समाज र परिवारले सम्मान गर्नुपर्ने बताउनुभयो । कतिपय सरकारी सेवाबाट निवृत्त भएकाहरूले सामाजिक सुरक्षा भत्ता नपाइरहेको अवस्थामा एक सयवर्ष पुगेका व्यक्तिलाई विशिष्ट नागरिक सेवाको खाँचो उहाँले औँल्याउनुभयो । सय वर्ष पुगेकाहरूलाई छुट्टै सामाजिक भत्ताको व्यवस्था गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।  

कार्यक्रममा ‘शताब्दी व्यक्तित्व’ नामक कृतिको सभामुख घिमिरेले लोकार्पण गर्नुभयो । पुस्तकमा ६१ जना शताब्दी व्यक्तित्वहरूको जीवनी लेखिएको छ । यसअघि शताब्दी व्यक्तित्वहरूको संयुक्त सङ्ग्रह पुस्तक सार्वजनिक नभएको भन्दै सभापति कार्कीले कोषले पहिलो पटक शताब्दी पुस्तक तयार गरी सार्वजनिक गरेको दाबी गर्नुभयो । कार्यक्रममा सुनिता भण्डारी, अम्बिका केसी लगायतले धारणा राख्नुभएको थियो ।