• १२ साउन २०८१, शनिबार

मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन

blog

फाइल तस्बिर

गोरखा, जेठ ७ गते । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कमार्फत गएको नौ महिनामा साढे दुई करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)ले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्ममा मनास्लु क्षेत्र घुम्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत दुई करोड ५० लाख  ५८ हजार राजस्व सङ्कलन गरेको हो ।

साउनदेखि चैतसम्म सार्क राष्ट्रभित्रका एक सय ५२ विदेशी पर्यटक मनास्लु संरक्षण क्षेत्रमा घुम्न पुगेका थिए । उनीहरूबाट एक लाख ५२ हजार राजस्व सङ्कलन भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । सोही अवधिमा सार्कबाहेक अन्य देशका आठ हजार तीन सय दुई विदेशी पर्यटक मनास्लु क्षेत्रमा घुम्न पुगेको कार्यालयको तथ्याङ्क रहेको छ । सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट सोही अवधिमा दुई करोड ४९ लाख छ हजार प्रवेश शुल्कबाट राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । 

मनास्लु क्षेत्र घुम्न जाने सार्क राष्ट्रभित्रका पर्यटकसँग कार्यालयले प्रतिव्यक्ति एक हजार प्रवेश शुल्क लिँदै आएको छ । त्यस्तै, सार्कबाहेकका अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार प्रवेश शुल्क लिने गरिएको उहाँको भनाइ छ । यस वर्ष मनास्लु क्षेत्र घुम्न पुग्ने पर्यटकको सङ्ख्या बढेकाले कार्यालयले नौ महिनाको अवधिमा नै गत आर्थिक वर्षमा भन्दा धेरै बढी राजस्व सङ्कलन गरिसकेको छ । यस वर्ष १२ हजारभन्दा बढी विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गर्ने अनुमान गरिएको प्रमुख शेरचनको भनाइ छ । रासस