काठमाडौँ, चैत १ गते । जेन-जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।
आइतबार माइतीघर मण्डलामा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिबद्धता गर्नुपर्ने जिकिर गर्नुभयो । अब बन्ने सरकारले शपथ लिनुअघि जेन–जी पुस्तासँग संकल्प गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले राज्य शक्तिशाली भए पनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताउनुभयो । बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा महत्त्वपूर्ण कुरा के हो भने अब बन्ने सरकारले भदौ २३ र २४ को नियति फेरि नेपाली जनताले भोग्नु नपर्ने ग्यारेन्टी हामीलाई दिनुपर्छ । उनीहरूले शपथ ग्रहण गर्नुअगाडि हामीसँग पनि एक किसिमको संकल्प गर्नुपर्छ कि यस्तो नियति फेरि नेपाली जनताले भोग्नु नपरोस् । जनताका छोराछोरी मार्न पाइँदैन । जतिसुकै शक्तिशाली सरकार भए पनि जनताका छोराछोरी मार्न पाइँदैन भन्ने स्पष्ट सन्देश बुझ्नुपर्छ । अरू त समयक्रमसँगै परिवर्तन हुने कुरा हुन् । उहाँहरूले सुशासनका कुरा बुझ्नुभएको छ । त्यसैले आशावादी रहँदै खबरदारीपूर्ण समर्थन गर्छौँ ।’
उहाँले समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिक सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्ने धारणा राख्नुभयो ।