काठमाडौँ, चैत १ गते । धनगढीस्थित चैतन्य पाठशालाको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) वोर्ड सदस्य जगत टमटा सम्मानित हुनुभएको छ ।
पाठशालाले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै टमटालाईै ‘चैतन्य खेलकुद साधना पुरस्कार–२०८२’ प्रदान गरिएको जनाएको छ ।
टमटाले लामो समयदेखि क्रिकेट खेलको विकास, खेलाडी उत्पादन तथा खेलकुद संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिँदै आउनुभएको छ । विशेष गरी सुदूरपश्चिम क्षेत्रमा क्रिकेट खेललाई लोकप्रिय बनाउने, प्रतिभावान खेलाडी उत्पादन तथा प्रशिक्षणमा सक्रियता उल्लेखनीय रहेको छ ।
टमट्टाले युवा खेलाडीहरूलाई अनुशासन, कडा मेहनत र खेलप्रतिको समर्पणको भावना विकास गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताउनुभयो ।
प्रशिक्षक टमटालाई महर्षि अन्तर्राष्ट्रिय फाउन्डेसनका निर्देशक डा. किङ्ज्ली, पतञ्जलि योग गुरु लवदेव मिश्र, चैतन्य कृष्ण महाराज र चैतन्य पाठशालाका पदाधिकारीले संयुक्त रूपमा साधना सम्मानसहित ५० हजार रुपियाँ प्रदान गर्नुभयो ।
सम्मानपछि टमटाले चैतन्य पाठशालाले आफूलाई गरेको सम्मान आफ्नो मात्रै नभएर समग्र खेल जगतकोलागि नै प्रेरणा हुने बताउनुभयो ।