सियोल, चैत १ गते । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै बहु-रकेट प्रक्षेपण प्रणालीको प्रत्यक्ष प्रहार अभ्यास अवलोकन गर्नु भएको छ । राज्य सञ्चार माध्यमले आइतबार सार्वजनिक गरेको विवरण अनुसार उक्त परीक्षणलाई दक्षिण कोरिया र अमेरिकाबिच भइरहेको संयुक्त सैनिक अभ्यासप्रति उत्तर कोरियाको सम्भावित प्रतिक्रियाका रूपमा हेरिएको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाले किमले शनिबार देशको पूर्वी समुद्री किनार क्षेत्रमा सञ्चालन गरिएको आक्रमण अभ्यास प्रत्यक्षरूपमा अवलोकन गर्नु भएको जनाएको छ । उक्त अभ्यासमा ६०० मिलिमिटर क्षमताका अत्यन्त सटीक बहु-रकेट प्रक्षेपण यन्त्रका १२ वटा प्रक्षेपक प्रयोग गरिएको बताइएको छ ।
यसअघि शनिबार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको राजधानी आसपासको क्षेत्रबाट पूर्वी समुद्रतर्फ करिब १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको पत्ता लगाएको जनाएको थियो । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले यसलाई उत्तर कोरियामाथि ब्यालेस्टिक क्षेप्यास्त्र गतिविधिमा प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन भएको उक्साहटपूर्ण कदम भनेको छ ।
राज्य समाचार संस्थाले किमलाई उद्धृत गर्दै उक्त अभ्यासले ४२० किलोमिटरभित्र रहेका सम्भावित शत्रुलाई ‘असहज बनाउने’ र उनीहरूलाई ‘रणनीतिक आणविक हतियारको विनाशकारी शक्ति कति भयावह हुन सक्छ भन्ने गहिरो समझ दिने’ बताउनुभएको जनाएको छ । यदि यस्तो हतियार प्रयोग गरियो भने प्रहार दायराभित्र रहेका विरोधी पक्षका सैन्य संरचना जोगिन नसक्ने उहाँको भनाइ उद्धृत गरिएको छ ।
प्रकाशित तस्बिरमा किम र उहाँकी छोरी विशाल ओलिभ रङका प्रक्षेपण ट्रक नजिकै हिँडिरहेको र तीबाट हतियार प्रहार भइरहेको दृश्य देखिएको छ । ती किशोरीलाई किम जोङ उनकी छोरी किम जु ए भएको मानिन्छ र उनको उमेर करिब १३ वर्ष रहेको बताइन्छ । सन् २०२२ को अन्त्यदेखि उनले क्षेप्यास्त्र परीक्षण, सैनिक परेड र अन्य महत्त्वपूर्ण कार्यक्रममा आफ्ना बुबासँग सार्वजनिक रूपमा उपस्थिति जनाउँदै आएकी छन् ।
यसले उनलाई सम्भावित उत्तराधिकारीका रूपमा तयार पारिएको हुन सक्ने अड्कललाई बल दिएको विश्लेषक बताउँछन् । सुरक्षा विश्लेषकका अनुसार उत्तर कोरियाले प्रयोग गर्ने यस्ता ठूलो आकारका रकेट प्रक्षेपण प्रणालीले तोपखाना प्रणाली र ब्यालेस्टिक क्षेप्यास्त्रबीचको सीमालाई अस्पष्ट बनाउँछन् । ती हतियारले आफ्नै बल सिर्जना गरेर उडान भर्न सक्ने र लक्ष्यतर्फ निर्देशित हुन सक्ने भएकाले तिनको प्रभावकारिता बढी मानिन्छ । उत्तर कोरियाले यस्ता केही प्रणालीबाट आणविक हतियार समेत प्रक्षेपण गर्न सकिने दाबी गर्दै आएको छ ।
यसैबिच अमेरिका र दक्षिण कोरियाबिच सञ्चालन भइरहेको वसन्तकालीन संयुक्त सैनिक अभ्यास जारी छ । उक्त अभ्यास मुख्यतया कम्प्युटरद्वारा सञ्चालन गरिने कमान्ड केन्द्र अभ्यासमा केन्द्रित रहेको बताइएको छ र यो मार्च १९ सम्म चल्नेछ । उत्तर कोरियाले यस्ता संयुक्त सैनिक अभ्यासलाई प्रायः आक्रमणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै आएको छ । त्यसैले प्योङयाङले प्रायः आफ्ना हतियार परीक्षण र कडा चेतावनीपूर्ण वक्तव्यमार्फत त्यसको प्रतिक्रिया दिने गरेको विश्लेषकले बताएका छन् । रासस/एपी