• १२ साउन २०८१, शनिबार

धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालन हुँदै

blog

धनुषाको ढल्केबर नापी कार्यालय । फाइल तस्बिर

महेन्द्रनगर (धनुषा), जेठ ७ गते । धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आउने निश्चित भएको छ । जनकपुरधामबाट भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट मोठ स्रेस्तालगायत आवश्यक कागजात ढल्केबर ल्याइएपछि यहाँका कार्यालय सञ्चालनमा आउने निश्चित भएको हो । 

ढल्केबरमा छ महिना अगाडि मालपोत कार्यालयको स्थापना भएको भए पनि भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधामले आवश्यक कागजात उपलब्ध नगराउँदा यहाँको कार्यालय सञ्चालनमा आउने-नआउने विषयमा अन्यौलता बढेको थियो । मालपोत कार्यालय ढल्केबरका प्रमुख अर्जुनकुमार मण्डलले भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधामले मोठ स्रेस्तालगायत आवश्यक कागजात आइतबार उपलब्ध गराएको बताउनुभयो । 

आवश्यक कागजात उपलब्ध भएपछि यहाँको कार्यालय सञ्चालनमा आउने निश्चित भएको कार्यालय प्रमुख मण्डलले जानकारी दिनुभयो । उहाँले कागजात आइपुगेको जनाउँदै सम्भवतः आगामी साताबाट सेवा सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कागजात व्यवस्थित गर्दछौँ, सम्भवतः एक साताको समय लाग्छ, त्यतिजेञ्लसम्म सेवा बन्द रहन्छ, सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गर्छौ ।” 

कार्यालय प्रमुख मण्डलका अनुसार मालपोत र नापी कार्यालय ढल्केबरमा साबिकका गाविस ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुर, रघुनाथपुरलगायत हालका तीन स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका मोठ स्रेस्ता ल्याइएको छ । वि.सं.२०७२ असोज १४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार २०७३ माघमा यहाँ नापी कार्यालय स्थापना गरिए पनि मालपोत कार्यालय स्थापना हुन सकेको थिएन । सोही कारण नापी कार्यालय स्थापना भएको सात वर्ष हुँदासम्म कार्यालयको कामकाज सुरु हुन सकेको थिएन । करिब छ महिनाअघि ढल्केबरमा मालपोत कार्यालयको स्थापना भएसँगै सञ्चालनमा ल्याउनका लागि प्रयास सुरु भएको थियो । रासस