• १२ साउन २०८१, शनिबार

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन

blog

फाइल तस्बिर

अन्नपूर्ण (कास्की), जेठ ७ गते । पोखरा महानगरपालिका-३० लेखनाथस्थित खुदीमा स्थापना गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको उद्घाटन गरिएको छ । पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा सञ्चालनमा ल्याएको एक सय शय्याको शिक्षण अस्पतालको आज गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको हो । 

विश्वविद्यालयले गत भदौमा आंशिकरुपमा अस्पताल सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि आजदेखि पूर्णरुपमा सञ्चालनमा ल्याएको हो । अस्पताल उद्घाटनपछि मुख्यमन्त्री अधिकारीले स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर अस्पतालले सेवा दिनुपर्ने बताउनुभयो । शिक्षण अस्पतालको महत्त्व र सेवालाई बुझेर सबै अगाडि बढ्न उहाँको आग्रह थियो । 

स्वास्थ्यका कारण जनता शारीरिक एवम् मानिसकरुपमा विचलन नहुने गरी गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीको जोड थियो । विश्वविद्यालयका रजिस्ट्रार एवम् शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्रा.डा.दीपकबहादुर भण्डारीले विश्वविद्यालयको चिकित्सा शिक्षा कार्यक्रमहरूलाई प्रयोगात्मक अभ्यासका लागि अस्पताल आवश्यक पर्ने भएकाले अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो । रासस