• १२ साउन २०८१, शनिबार

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द

blog

बिपी राजमार्ग । फाइल तस्बिर

काभ्रेपलाञ्चोक, जेठ ७ गते । मनसुन सुरु हुनै लाग्दासमेत बिपी राजमार्गको आकस्मिक सूचना (इआइएस) प्रणाली बन्द अवस्थामा छ । दुई वर्षदेखि सूचना प्रणालीको उपकरण मर्मत नहुँदा यात्रुले सूचना पाउन सकेका छैनन् । गत वर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि मर्मत हुन नसकेको सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । 

आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार गत वर्ष सडक विभागसँग मर्मतका लागि बजेट प्रस्ताव गरे पनि प्राप्त हुन सकेन । सूचना प्रणाली ‘बोर्ड’मा सडकको अवस्था, प्राकृतिक प्रकोप तथा दुर्घटनाबारे ‘डिस्प्ले’ हुने गर्दथ्यो । सूचनाका आधारमा यात्रुलगायत सडक प्रयोगकर्ताले यात्रा गर्दथे । राजमार्गको धुलिखेल-सिन्धुली-बर्दिबास सडकखण्डमा तत्कालीन मौसमी अवस्थाबारे जानकारी दिन नौ वर्षअघि अरनिको राजमार्ग प्रारम्भ हुने जडीबुटीमा र काभ्रेपलान्चोकको धुलिखेललदेखि सिन्धुली-बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । 

धुलिखेलमा रहेको सूचना बोर्डमा मौसमअनुसार सूचना दिने प्रणाली मर्मत गरी अद्यावधिक गर्न सकिएको छैन । उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन विभागले गत वर्ष जाइका एक्सपोर्टस् टिमलाई अध्ययनको स्वीकृत दिएको थियो । जाइकाको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत हुन नसकेको हो । यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफल अब्जरभेसन सिस्टम’ले निरन्तर वर्षातको मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ । यस्ता केन्द्र काठमाडौँ थापाथलीस्थित उप-आयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरू र सिन्धुलीमा रहने व्यवस्था गरिएको थियो । 

उक्त प्रणालीअन्तर्गत ‘डाटा सेन्टर’मा निरन्तर आउने प्रकोपका विवरणहरू ‘जिपिआरएस् मोडेम’ मार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ ‘अपडेट’ हुन्छ । यी विवरणहरू ‘एलइडी डिस्प्ले’ युक्त बोर्डमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबिसै घण्टा विवरण ‘अपडेट’मा ‘लोडसेडिङ’ले समस्या हुन सक्ने भएकाले सबै केन्द्रमा सौर्यशक्ति (सोलार)समेत जडान गरिएको छ । काभ्रेपलान्चोकको धुलिखेलबाट बर्दिबाससम्म एक सय ६० किलोमिटर सडक वि.सं.२०५४ सालदेखि विस्तार गरिएको थियो । रासस