• १२ साउन २०८१, शनिबार

एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ

blog

कमल खत्री

नेपालगन्ज, जेठ ७ गते । पार्टी नेतृत्वको रोजाइमा परेका नेतालाई पराजित गर्दै नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ । 

गुरुङले डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्ष बन्नुभएको हो । सोमबार घोषणा गरिएको मतगणना अनुसार निरक गुरुङले दुई सय ९१ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी डिल्ली बिसीले एक सय ५४ मत पाउनुभयो । जितपछि नवनिर्वाचन अध्यक्ष गुरुङले पार्टीलाई एक ढिक्का भएर अगाडी लैजाने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचन प्रक्रिया सकिएपछि सबै कुरा सकियो । अब सबै साथीहरूलाई एक जुट बनाएर पार्टीलाई बलियो बनाउने दिशामा केन्द्रित हुन्छु ।’’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलको समर्थन रहेका डिल्ली बिसी निर्वाचन अघि बलियो उम्मेदवारको रूपमा प्रस्तुत हुनुभएको थियो । अध्यक्ष पदको त्रिकोणात्मक प्रतिस्पर्धा हुने करिब पक्का जस्तै भैसकेको थियो । तर अन्तिम समयमा आएर वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले आफ्नो उम्मेदवारी फिर्ता लिदैं गुरुङलाई समर्थन गर्नुभयो । जसले निर्वाचनको परिणामलाई गुरुङको पक्षमा पारिदियो । 

पार्टी नेतृत्वले सुरुआतमा वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिलाई पुनः दोहोर्‍याउने रणनीतिमा थियो । तर पार्टीको तल्लो तहमा भने कक्षपतिको माहौल राम्रो थिएन । अध्यक्ष केपी शर्मा ओलीले कक्षपतिलाई दोहोर्‍याउने सङ्केत गर्नुभएको थियो । माहौल कक्षपतिको पक्षमा नभएपछि डिल्ली बिसीलाई अध्यक्ष बनाउन महासचिव शङ्कर पोखरेलको लविङ सुरु भएको थियो । अन्तिम समयसम्म कक्षपतिलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास पनि भएको थियो । 

आफ्नो माहौल राम्रो नभएको सङ्केत बुझेर कक्षपतिले उम्मेदवारी फिर्ता लिदैं निर्वाचन कार्यक्रम भइरहेको हलमै सार्वजनिक रूपमा निरकलाई विजयी गराउन अपिल गर्नुभयो । जुन पार्टीको निर्देशन विपरीत थियो । यस पटक एमाले बाँकेको निर्वाचनमा प्रतिस्पर्धा गरेपनि गुट वा समूह नबनाउन निर्देशन गरिएको थियो । जसका कारण सबैले आ–आफ्नो भोट एक्लै मागेका थिए । तर कक्षपतिले कार्यक्रम हलमै अध्यक्षमा निरक, उपाध्यक्षमा रवीन्द्र लम्साल, सचिवमा दत्तप्रसाद आचार्य भन्दै भोट मागेपछि केही बेर विवाद उत्पन्न भएको थियो । 

एमाले बाँकेको नवौँ अधिवेशनबाट पार्टीको पुरानो समूह माधव नेपाल पक्षका धेरै नेताले जित हासिल गर्नु भएको छ । पार्टी विभाजन पछि एमालेमै रहेका नेता हुन् निरक गुरुङ । पार्टीमा लामो समयदेखि निष्ठावान् राजनीति गरेको परिचय छ उहाँको । यसैगरी उपाध्यक्षमा सर्वाधिक मत सहित रत्न खत्री निर्वाचित हुनुभएको छ । 

महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति देखि लिएर पार्टीको वर्तमान सचिव हुनुहुन्छ खत्री । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री खत्री यस पटक निर्वाचनमा सर्वाधिक मतदाताले रुचाइएका नेता बन्नु भएको छ । खत्रीले तीन सय १३ मत पाउँदा उहाँका प्रतिस्पर्धी रवीन्द्र लम्सालले एक सय ३८ मत पाउनुभएको छ । 

सचिव पदमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी  खिल प्रसाद भुसालले एक सय १७ मत, भीम ओलीले ९५ र दत्तप्रसाद आर्चायले ८८ मत पाउनुभएको छ । 

महिला उपमहासचिव तर्फ निर्मला सुनारले एक सय ९८ मत सहित जित हासिल गर्नुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी शारदा विश्वकर्माले एक सय ३४ र रचना श्रेष्ठले १ सय १५ मत पाउनुभएको निर्वाचन मण्डलले जनाएको छ । 

उपमहासचिव खुलातर्फ भने किशोर थापाले दुई सय ६३ मत सहित जित हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी  दीपक कुमार बर्माले एक सय २९ मत र सोहनलाल यादवले ४५ मत प्राप्त गर्नु भएको छ । 

बाँके एमालेको नयाँ नेतृत्व छनौटका लागि चार सय ६८ जना प्रतिनिधि मध्ये चार सय ५८ जनाले मतदान गर्नु भएको थियो । जेठ चार गतेदेखि एमाले बाँकेको जिल्ला अधिवेशन सुरु भएको थियो ।

एमाले बाँकेको नेतृत्व चयनका लागि दोस्रो पटक निर्वाचन भएको हो । यसअघि सातौँ अधिवेशनमा पदम धिताल र अशोक कोइरालाबिच अध्यक्षका लागि प्रतिस्पर्धा भएको थियो । जसमा कोइरालाले जित हासिल गर्नुभएको थियो ।