• ११ मंसिर २०८१, मङ्गलबार

वायोमेडिकल उपकरणहरूको ठुलो हिस्सा उपयोगविहीन

blog

काठमाडौँ, जेठ ७ गते । सार्वजनिक स्वास्थ्य संस्थामा कोभिड १९ महामारीको समयमा खरिद गरिएका वा प्राप्त गरिएका वायोमेडिकल उपकरणहरूको ठुलो हिस्सा उपयोगविहीन रहेको अध्ययनले देखाएको छ । 

नेपालका सार्वजनिक स्वास्थ्य संस्थाहरूमा वायोमेडिकल उपकरणहरूको सर्वेक्षण सार्वजनिक कार्यक्रममा यस्ता तथ्याङ्क देखिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले एसियाली विकास बैङ्कको सहयोग तथा लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा सन् २०२३ को मध्य अक्टोबरदेखि सन् २०२४ को मध्य मार्चसम्म सञ्चालित सर्वेक्षण गरेको थियो । 

लाइफलाइन इन्टरप्राइजेजका अध्यक्ष तिब्रेवालले कोशी, मधेश, बागमती गण्डकी तथा सुदूरपश्चिम गरी पाँच प्रदेशका ८० वटा स्वास्थ्य संस्थामा १९ हजार १७४ वायोमेडिकल उपकरणको स्थिति, कार्यक्षमता र उपयोगिताको विषयमा सर्वेक्षण गरेको थियो । 

उक्त अध्ययनका अनुसार त्यसमध्ये ५० प्रतिशतभन्दा बढी कोभिड १९ महामारीको समयमा खरिद गरिएको वा अनुदानमा प्राप्त भएको देखिएको तिब्रेवालले बताउनुभयो । 

त्यस्तै, ७१ प्रतिशत उपकरणले कामगरेको उक्त अध्ययनले देखाएको छ ।, छ प्रतिशत उपकरणहरू राम्रो अवस्थामा रहेपनि प्रयोगमा नआएको देखिएको छ । नौ प्रतिशत सामग्री बिग्रिएको अवस्थामा रहेको र १४ प्रतिशत सामग्री जडान नै नगरिएको देखिएको छ । 

उक्त अध्ययनका अनुसार कोभिड १९ महामारीको समयमा खरिद गरिएका वा प्राप्त गरिएका वायोमेडिकल उपकरणहरूको ठुलो हिस्सा उपयोगविहीन रहेको छ ।  बिग्रिएको  अवस्थामा  रहेकामध्ये ७५ प्रतिशत सामग्री मर्मतयोग्य (सञ्चालनमा ल्याउन सकिने ) तिब्रेवालको भनाई छ । 

उहाँ भन्नुहुन्छ, ‘उच्च मूल्यका उपकरणहरूको उपयोगमा ठुलो पृथकता देखिन्छ । केही संस्थाहरूमा उच्च मूल्यका उपकरणका न्यून उपयोग देखिन्छ ।’  

४४ प्रतिशतमात्र (८० मध्ये ३५) स्वास्थ्य संस्थाले डिजिटल लगबुक जिन्सी व्यवस्थापन प्रणाली प्रयोगमा ल्याएका देखिन्छन् । सर्वेक्षण गरिएका धेरै अस्पतालमा वायोमेडिकल उपकरण व्यवस्थापनका लागि डिजिटल प्रणाली कार्यान्वयनमा नल्याइएको देखिन्छ । 

सरकारले वायोमेडिकल उपकरणहरूको असमान वितरण तथा तिनीहरूको प्रभावकारी व्यवस्थापन र त्यसमा पनि खासगरी कोभिड-१९ महामारीको समयमा खरिद गरिएका उपकरणको जिन्सी व्यवस्थापन सम्बन्धी नीति निमार्ण गर्नुपर्ने उहाँको सुझाव थियो । 

उक्त अध्ययनले सङ्घीय अस्पतालमा सिटी स्क्यान मेसिन २० वटा रहेकोमा १६ वटा मात्र सञ्चालनमा रहेका उक्त अध्ययनले देखाएको छ ।  वीर अस्पताल, एपिएफ, कोशी अस्पताल, नरदेवी अस्पतालका एक/एक गरी चार वटा सिटी स्क्यान मेसिन सञ्चालनमा नरहेको उक्त अध्ययनले देखाएको हो । 

स्वास्थ्य सेवा विभागका निर्देशक डा.सङ्गीता कौशल मिश्राले सरकारले मर्मतमा बजेट कम दिएको जिकिर गर्नुभयो । उहाँले बिग्रिएका उपकरणको आन्तरिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने बेला भएको बताउनुभयो । 

उहाँले विकास समितिबाट भएपनि मर्मत संसारका लागि बजेट व्यवस्था गर्न आग्रह गर्नुभयो। साथै उहाँले सातै प्रदेशमा मर्मतका लागि सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको जिकिर गर्नुभयो । 

यदि चलाउने जनशक्ति नभए डोनेसनमा कुनै पनि उपकरण नलिन पनि आग्रह गर्नुभयो ।  जहाँ चलेका छैनन् चलाउन सक्ने ठाउँमा पठाउन उहाँले निर्देशन दिनुभयो ।

व्यवस्थापन शाखाका निर्देशक डा.श्रवण थापाले सबैले गुणस्तरीय व्यवस्थापन कसरी मर्मत गर्न सकिन्छ भन्ने विषयमा सचेत गराइएको उहाँको भनाई छ । मर्मत हुन सक्ने सामग्रीलाई मर्मत गरेर सञ्चालन गर्न उहाँले आग्रह गर्नभयो । उपकरण बिग्रिएर सेवा सञ्चालन गर्न सकिएन भने सञ्चालन गर्न सकिने स्थानमा पठाएर भएपनि चलाउन उहाँले निर्देशन दिनुभयो । 

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले वायोमेडिकल इन्जिनियरको अभावले गर्दा पनि बिग्रिएका उपकरणको समयमा नै मर्मत गर्न नसकेको जानकारी दिनुभयो ।