• १२ साउन २०८१, शनिबार

आगलागीबाट सात करोड ६० लाखको क्षति

blog

आगोले जलेर ध्वस्त भएको पसल तथा समानहरू । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, वैशाख ७ गते । तनहुँको सदरमुकाम दमौलीमा गए राती भएको आगलागीबाट सात करोड रुपियाँ बढीको क्षति भएको छ ।

प्रारम्भमा सात करोड ६० लाखको क्षति भएको पाइएको र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।  २० जना व्यवसायीको २३ वटा सटरमा रहेको समान जलेर ध्वस्त हुँदा सो क्षति भएको पाइएको गौतमले  बताउनुभयो ।  

जिल्ला समन्वय समितिको मातहतमा रहेको व्यास नगरपालिका–३ मेनरोड, फलफूल लाइनमा आइतबार  राती करिब १२ बजेदेखि आगलागी भएको थियो । सो लाइनका २३ पसल वटै सटरमा रहेको समान पूर्णरुपले ध्वस्त भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तत्काल परिचालन गरी सोमबार बिहान ७ सात बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याएको प्रजिअ गौतमले जानकारी दिनुभयो । 

व्यास नगरपालिका, तनहुँ जलविद्युत आयोजना, पृथ्वीराजमार्गको पोखरा–मुस्लिन सडक विस्तार आयोजना गरी चार वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएकोले बजारका अन्य क्षेत्रमा  आगो नसल्किएको गौतमले बताउनुभयो । ठुलो जनशक्ति राती देखि नै प्रयोग गरिएको र धेरै दमकल भएकोले आगो नियन्त्रण लिन सफलता मिलेको गौतमले बताउनुभयो ।

क्षति मूल्याङ्कनको लागि समिति गठन

यसैबिच आगलागीको क्षतिको विवरण सङ्कलन गर्नको लागि नौ सदस्यीय समिति गठन गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । 

व्यास नगरपालिकाको संयोजकत्वमा क्षतिको यर्थाथ विवरण सङ्कलन गर्ने, क्षतिको विवरण विपद्का स्थानीय समिति, जिल्ला, प्रदेश तथा सङ्घ समितिलाई जानकारी गराई राहतको लागि पहलकदमी गर्ने र विस्थापित व्यवसायी सोही ठाउँमा स्थापितको लागि पहल कदमी गर्ने निर्णय भएको समन्वय प्रमुख वाग्लेले जानकारी दिनुभयो । 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यवसायीको राहतको लागि यथाशीघ्र क्षतिको मुचुल्का उठाउने, नक्सा पास गरी सुरक्षित आवास बनाउनु पर्ने बताउनुभयो । व्यवसायीलाई परेको मर्कालाई सम्बोधन गर्ने नगर प्रमुख न्यौपानेले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।