• १४ मंसिर २०८१, शुक्रबार

राजविराजको बजेट नीति तथा कार्यक्रम सार्वजनिक

blog

देवरामप्रसाद यादव

सप्तरी, कार्तिक १ गते । राजविराज नगरपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । बुधवार एक समारोहबिच कार्यवाहक नगरप्रमुख इसरत परविनको अध्यक्षतामा बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यक्रममा राजविराज नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का वडाध्यक्ष  जयनारायण मण्डलले आर्थिक वर्ष २०८०/०८१ लागि नगर सभाबाट पारित विनियोजन विधेयक २०८० मा समावेश एक अर्ब ११ करोड ३२ लाख ७८ हजारको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो  ।

उहाँले आर्थिक वर्ष २०७८/०७९ र ०७९/०८० मा सम्पन्न गरेका तथा भुक्तानी नपाएका योजनाहरूको लागि १४ करोड रुपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।

कार्यवाहक नगरप्रमुख इसरत परविनले विगतमा सम्पन्न कामको भुक्तानी गर्ने किसिमले दायित्व मुक्त नगरपालिका बनाउने उद्देश्यका साथ बजेट नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले काम गरेको पैसा दिनुपर्छ भन्ने मान्यताको साथ बजेट ल्याइएको स्पष्ट पार्नुभयो ।

उहाँले नगरपालिकाबाट भएका कमिकम्जोरीलाई सच्याउन निरन्तर खबरदारी गरि सहयोग गरिदिन पत्रकारहरूलाई पनि आग्रह गर्नुभयो । 

उहाँका अनुसार आर्थिक विकास तर्फ कृषि, पशुपन्क्षी, रोजगार तथा आप्रवास, पूर्वाधार, वन, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । यसैगरी, सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य, महिला बालबालिका, दलित, आदिवासी जनजाति, मधेशी, पिछडा वर्ग, हरुवाचरुवा, ज्येष्ठ नागरिक अपाङ्गता भएकाहरूको उत्थान तथा विकासलाई बजेटले जोड दिइएको उहाँको भनाइ छ । 

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले पर्याप्तता स्रोत साधन तथा जनशक्ति हुँदाहुँदै राजविराज नगरपालिका सरसफाइमा पछाडि परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

गत असोज १५ र १६ गते सम्पन्न राजविराज नगरपालिकाको नगर सभा भएको दुई हप्तापछि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।