• १२ असार २०८१, बुधबार

अरुण तेस्रो आयोजनाको समस्या मन्त्री परिषदमा लगिने

blog

काठमाडौँ, कात्तिक १ गते । लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्गका समस्या समाधान गर्न मन्त्री परिषदमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा मङ्गलबार बसको बोर्डको ५६ औँ बैठकले सङ्खुवासभा जिल्लामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रवेश मार्ग छ्याङकुटी–दिदिङ (२४ किमी) सडकखण्डको समस्या समाधान गर्न उक्त निर्णय गरेको हो । सो सडकखण्डको मुआब्जा विवादका कारण लामो समयदेखि काम ठप्प छ ।

विकासकर्ता एसजेभिएन पावर डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडले एक खर्ब ४४ अर्ब रुपियाँको लागतमा निर्माण गरिरहेको उक्त परियोजनाको भौतिक प्रगति ६६.३ र प्रसारण लाइनतर्फ १५.४६ प्रतिशत रहेको लगानी बोर्डले जनाएको छ ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डबाट सम्पादित गतिविधि तथा ५५ औँ बोर्ड बैठकका निर्णयको कार्यान्वयन अवस्था र ५६ औँ बोर्ड बैठकका कार्यसूची प्रस्तुत गर्दै परियोजना विकास सम्झौताका करारीय दायित्व पूरा गर्न सरकारको सिङ्गो संयन्त्रले प्रभावकारी कदम चाल्नु पर्ने धारणा राख्नुभयो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रो जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा कार्यान्वयन भइरहेको विदेशी लगानीको परियोजना भएकाले यसको सहज र सफल कार्यान्वयन तथा प्रभावकारी सहजीकरणले विदेशी लगानीको अनुकूल वातावरण रहेको सन्देश प्रवाहित हुने बताउनुभयो । उहाँले परियोजना समयमा सम्पन्न गर्न आवश्यक सहजीकरणका लागि सम्बन्धित निकायले प्रभावकारी समन्वयसहित चुस्त ढङ्गले काम गर्न निर्देशन दिनुभयो ।