• १४ जेठ २०८१, सोमबार

सहुलियत पसलमा बढ्यो उपभोक्ताको भिड

blog

काठमाडौँ, असोज ३० गते । नेपालीको महान् पर्व दसैँ नजिकिएसँगै बजारमा भिडभाड बढेको छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि पर्व भएकाले सबै जना दसैँका लागि किनमेलमा व्यस्त छन् । 

दसैँको दोस्रो दिन बजारमा दसैँका लागि खाद्यवस्तु, लत्ताकपडा तथा आवश्यक वस्तुको जोहो गर्नेहरूको भिड लागेको हो । योसँगै यति बेला आर्थिक कारोबार पनि बढेको छ । आमनागरिकले अन्य समयको तुलनामा बढी खर्च गर्ने हुनाले यति बेला आर्थिक गतिविधि पनि बढेको छ । 

दसैँलाई लक्षित गरी सरकारले गत असोज १ देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल दुग्ध विकास संस्थान (डिडिसी) मार्फत सहुलियत मूल्य पसल पनि सञ्चालनमा ल्याएको छ । ती पसलमा खाद्यवस्तुका सामान खरिद गर्ने सर्वसाधारणको भिड दिनप्रतिदिन बढ्दै गएको छ । 

खाद्य कम्पनीले उपत्यका चार स्थानसहित देशका विभिन्न आठ ४८ स्थानमा सञ्चालित सहुलियत मूल्य पसलमा उपभोक्ताको भिड दिनदिनै बढेको सो कम्पनीले जनाएको छ । साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकामा आठसहित उपत्यकाबाहिर जिल्लामा गरी ४३ स्थान सहुलियत पसल सञ्चालन गरेको छ । कर्पोरेसनले उपत्यकामा तीन वटा मोबाइल भेनमार्फत पनि सेवा दिँदै आएको छ । 

सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कम्पनीले आफ्ना बिक्री केन्द्रमार्फत सहुलियत मूल्य बिक्री गर्दै आएका खाद्यवस्तुमा सबैभन्दा धेरै चामल बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकाको हकमा भने चामलसँगै चिनो, कागुनो र कर्णालीको सिमीको बढी माग आएको छ । सो कम्पनीको थापाथलीस्थित बागमती प्रदेश कार्यालयका प्रमुख ज्ञानु थापाले उपत्यकामा चिनो र कागुनोको धेरै माग भएकाले पु¥याउनै नसकेको बताउनुभयो । कम्पनीको बढी बिक्री गर्ने लक्ष्य चामल भए पनि उपभोक्ताको बढी आकर्षण चिनो र कागुनोमा भएको उहाँको भनाइ छ । अन्य बजारको तुलनामा सरकारले सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा खाद्यवस्तुको मूल्य सस्तो भएकाले सर्वसाधारण उपभोक्ताको भिड लाग्नु स्वाभाविक भएको बताइएको छ । 

खाद्य कम्पनीको अनलाइन डेलिभरी सेवा

सो कम्पनीले सहुलियत मूल्य पसलमार्फत उपत्यका ग्राहकलाई ध्यानमा गरी अनलाइन डेलिभरीलाई प्राथमिकता दिएको छ । कम्पनीले उपत्यकाका चक्रपथभित्र अनलाइन डेलिभरीको सेवा दिँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो । गत वर्ष उपत्यका सबै ठाउँमा डेलिभेरी सेवा दिएका कम्पनीले यो पटक भने उपत्यकाको चक्रपथमा मात्रै सीमित गरेको जनाएको छ । 

विद्युतीय भुक्तानी बढ्दै

त्यससँगै विद्युतीय माध्यमबाट भुक्तानी गर्नेको सङ्ख्या बढेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्ले इपेमेन्ट र अनलाइन डेलिभरीलाई प्राथमिकता दिएकाले विद्युतीय भुक्तानी गर्ने ग्राहकको सङ्ख्या पनि पहिलेको तुलनामा बढेको जानकारी दिनुभयो । उहाँका अनुसार बिक्री केन्द्रमै आउनेमध्ये पनि लगभग आधाले विद्युतीय भुक्तानी गर्ने गरेका छन् । 

साल्ट टे«डिङ कर्पोरेसनका अनुसार कर्पोरेसनबाट चामल, नुन, दाल, खाने तेल, चिउरालगायतको सहुलियतमा बिक्री हुँदै आए पनि सबैभन्दा बढी भिड चिनी किन्नेको छ । कर्पोरेसनबाट सामान किन्नेमध्ये आधा लगभगले पछिल्लो पटक विद्युतीय भुक्तानीमार्फत पैसा तिर्ने गरेको कर्पोरेसनले जनाएको छ । 

पछिल्लो पटक चिया पसल, तरकारी पसल, फेन्सी पसल, होटलदेखि ठुल्ठुला व्यापारिक तथा कर्पोरेट हाउसमा सहजै क्युआरमार्फत भुक्तानी गर्न सकिने व्यवस्था छ । पछिल्लो तीन आर्थिक वर्षमा डिजिटल भुक्तानी झन्डै तेब्बरले बढेको र बढ्ने क्रम जारी रहेको राष्ट्र बैङ्कले जनाएको छ ।