• १० मंसिर २०८१, सोमबार

ज्योति पुञ्ज कपको उपाधि न्यु यूथ युनियन तानसेनलाई

blog

इमान सिं राना

रामपुर (पाल्पा), असोज २९ गते । पाल्पाको रामपुरमा भएको ज्योति पुञ्ज कप फुटबल प्रतियोगिताको उपाधि न्यु यूथ युनियन क्लब तानसेन पाल्पाले हात पार्न सफल भएको छ । रामपुर नगरपालिका–७, किसान बारी भएको फाइनल खेलमा आयोजक रामपुर ज्योति पुञ्ज (सेतो)लाई १÷० गोलले हराउँदै न्यु यूथ युनियन च्याम्पियन बनेको हो । 

       उपाधिका लागि भएको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४ मिनेटमा सवि गुरुङले गोल गर्दै टिमलाई उपाधि दिलाएका हुन् । न्यु यूथ युनियनलाई कर्नर प्राप्त भएको थियो । आयुष गुरुङले कर्नर बाट हानेको बललाई सवि गुरुङले हेड गरी गोल गर्न सफल भएका थिए । सोही गोल अन्ततः उपाधिको लागि निर्णायक बन्न पुग्यो ।  

       ६ जिल्लाका १० क्लबको सहभागिता रहेको प्रतियोगिताको च्याम्पियन न्यु यूथ युनियन क्लब तानसेन पाल्पाले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता रामपुर ज्योति पुञ्ज (सेतो) ले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात प्राप्त गरेको छ । ज्योति पुञ्ज युवा क्लबको २७ औँ वार्षिक उत्सव सँगै बडा दसैँ तथा दीपावलीको अवसरमा गत असोज २२ गते देखि भएको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी आयोजक रामपुर ज्योति पुञ्ज (सेतो)का मोहित गुरुङ भएका छन् । उत्कृष्ट गोल्ड किपर न्यु यूथ युनियन तानसेनका दीपेश परियार, उत्कृष्ट डिफेन्डर रामपुर ज्योति पुञ्जका निशान रावल, हाईस्कोरर फर्साटिकर यूथ क्लब रुपन्देहीका आशिष् जिसी भएका छन् । उत्कृष्ट खेलाडीलाई नगर १० र अन्यलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । 

      विजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, दिव्य राता इन्टरप्राइजेजका डाइरेक्टर अभिनव थापा, जापनिज समाजसेवी काजुमासा काकिमीले पुरस्कार प्रदान गर्नु भएको थियो । रामपुरलाई खेलको मध्यम बाट चिनाउन तथा स्थानीय खेलाडीको स्तर वृद्धिका लागि प्रतियोगिता गरिएको क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि उपस्थिति रहेको थियो ।