• १२ साउन २०८१, शनिबार

खानीमा फसेकाको कथा ‘मिसन रानीगन्ज’

blog

काठमाडौँ, असोज २७ गते । सन् १९८९ मा पश्चिम बङ्गालको रानीगन्जको कोइलाखानीमा काम गर्ने क्रममा ठुलो दुर्घटना भएको थियो र त्यहाँ धेरै मान्छे खानीमा फसेका थिए । एक साधारण व्यक्तिले आफ्नो ज्यान जोखिममा राखेर त्यहाँ फसेका ६५ जनालाई बचाए । चलचित्र ‘मिसन रानीगन्ज’ को कथा यिनै कुरा वरपर घुमेको छ । चलचित्र एक साहसी र बुद्धिमान इन्जिनियर जसवंत सिंह गिलको सत्य कथाबाट प्रेरित छ । यसअघि पनि यस्ता विषयमा चलचित्र नबनेको भने होइन । कोइलाखानीको विषयमा ‘काला पत्थर’ चलचित्र बनेको थियो तर चलचित्र काल्पनिक मात्र थियो । यो चलचित्र भने सत्य घटनामा आधारित छ ।

कथा सन् १९८९ को हो, जब रानीगन्जको कोइला खानीमा काम गर्ने क्रममा पहिरो जान्छ र दुर्घटनामा परेर धेरै मानिस खानीमा फस्न पुग्छन् । जसवन्त सिंह गिल (अक्षय कुमार) नामका व्यक्ति, जसको यस दुर्घटनासँग कुनै सरोकार छैन र खानीबाट धेरै टाढा छन् तर पनि मनमा यी मानिसलाई बचाउने दृढ सङ्कल्प छ । रानीगन्ज आएपछि आफ्नो अदम्य साहस र बुद्धिका साथ उनी ६५ जनालाई खानीबाट निकाल्न सफल हुन्छ । चलचित्रको कथा खानीमा फसेका ६५ जनालाई निकाल्न जसवन्तलाई के कस्ता पापड झेल्नु पर्छ भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रले एकातिर एक साधारण मानिसको असाधारण साहसको कथा बताउँछ भने अर्कोतर्फ खानीमा काम गर्ने मानिसको दयनीय जीवन र खानी मालिकको जीवनप्रतिको उदासीनता किन आयो भन्ने कुरालाई प्रस्ट्याउन खोज्छ । चलचित्रभित्र केही यस्ता दृश्य छन् जसलाई हेरेपछि दर्शकको मन केही न केही कुरामा पग्लिने छ । 

अक्षय कुमारले जसवन्त सिंह गिलको भूमिकालाई निकै राम्रोसँग प्रस्तुत गरेका छन् । उनले आफ्नो बुद्धिमत्ता र मेहनतले कोइला खानीमा फसेका मानिसलाई जसरी बाहिर निकाल्छन्, त्यो हेर्न लायक छ । चलचित्र हेर्दा उनी अन्त्यसम्म चलचित्रकै पात्रमा नै रहे जस्तो लाग्छ । चलचित्रभित्र यस्ता धेरै दृश्य छन्, जहाँ अक्षय कुमारले आफ्नो उत्कृष्ट अभिनयको उदाहरण प्रस्तुत गरेका छन् । परिणीति चोपडा घरेलु महिलाको भूमिकामा सुहाएको छ । यीबाहेक चलचित्रमा अन्य धेरै उत्कृष्ट कलाकार छन्, जसले आआफ्नो भूमिकामा पूर्ण न्याय गरेका छन् । पवन मल्होत्रा ​​र रवि किसनको अभिनयले पनि दर्शकलाई आकर्षित बनाउँछ । त्यस्तै चलचित्रमा पश्चिम बङ्गालका चर्चित अभिनेता दिव्यन्दु भट्टाचार्यले पनि अभिनय गरेका छन् । उनको चलचित्रभित्र उत्कृष्ट काम देखिन्छ ।

यसअघि ‘१९२० लन्डन’ र ‘रुस्तम’ निर्देशन गरिसकेका टिनु सुरेश देसाइले चलचित्र निर्देशन गरेका हुन् । देसाइद्वारा निर्देशित कलाकार अक्षय कुमारको यो दोस्रो चलचित्र हो । उनी आफ्नो काममा विज्ञ छन् र कलाकारबाट काम लिनुका साथै पटकथालाई कुनै पनि हालतमा कमजोर वा सुस्त हुन दिनु हुन्न भन्ने उनको मान्यता छ । उनले सन् १९८९ को रानीगन्ज र कोइलाखानीमा काम गर्ने मजदुरको जीवनलाई पर्दामा सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । चलचित्रको संवाद ठिकठाक छ । मानवता र अदम्य साहसको यो कथा हरेकले हेर्नु पर्छ । जसले दर्शकको मनभित्र जोश जाँगर जगाउने काम गर्छ । चलचित्रले पारिवारिकदेखि लिएर सबै कुराले दर्शकलाई निपूर्ण बनाउँछ ।