दोलखा समाचारदाता
दोलखा, असोज २७ गते । दोलखाको सदरमुकाम चरीकोट बजारमा दसैँको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीहरूको गुनासो रहेको छ । कपडा पसलमा फाट्टफुट्ट ग्राहक छन् । रेडिमेड कपडा पसलमा अलि छन् तर खासै व्यापार भएको छैन । एमके स्टोरका मनोज श्रेष्ठले भन्नुभयो, पहिले पहिलेको जस्तो व्यापार छैन । यो बेला त पसलमा खचाखच हुन्थ्यो । अहिले त नगन्य व्यापार भइरहेछ । जीवन जिउन गारो छ ।
लगातार गत दुई वर्षको कोरोना महामारीले शून्य बनाएको व्यापार यो वर्ष त हुन्छ कि भन्ने आशा पनि सेलाएको व्यापारीहरूको गुनासो रहेको छ । बजारमा मानिसको चहलपहल त देखिएको छ तर पसलमा व्यापार भने भएको छैन । अदीप खाद्यान्न स्टोरका सञ्चालक दिनेश बस्नेतले गुनासो गर्नुभयो ।
पहिला सोह्रश्राद्धदेखि नै किनमेल गर्नेको पसलमा भिड लाग्ने गर्दथ्यो । सामान दिएर फुर्सद हँुदैनथ्यो । अहिले त सदा झै फाट्टफुट्ट मात्र छन् । गत तीन वर्षदेखि चरीकोटको व्यापार खस्किएको छ । अरू त छोडिदिउँ भाडा तिर्न पनि धौ धौ भएको उहाँले दुःखेसो पोख्नुभयो ।
पहिले तीन दिनमा २५ कार्टोन स्याउ बिक्री गरेको सुनाउँदै पाठक फलफूल पसलका इन्द्र पाठकले भन्नुभयो, सदा झैँ अहिलेसम्म तीन कार्टोन स्याउ बिक्री भएको छैन । व्यापार त पूरै खस्किएर गएको छ । व्यापारबाट नाफा होइन घाटा हुन थालेको छ । आर्थिक मन्दीले पो हो कि ?
अहिले फलफूल, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तु गाउँ गाउँमा नै पुगेका छन् । चरीकोट बजारको भन्दा पनि सस्तोमा गाउँमै पाएपछि बोकेर लाने झन्झट कसले गर्छ त ? सङ्घीयता लागू भएयता सदरमुकाम सुनसान हुनुका साथै बन्दव्यापार पनि खस्किएको बताइन्छ ।