राधाकृष्ण डुम्रे
वालिङ, असोज २६ गते । स्याङ्जाको अधिकांश पसलबाट म्याद गुज्रिएका सामाग्री विक्री गर्ने गरेको पाइएको छ । यहाँका व्यपारीहरुले कमाऊ धन्दा चलाउँदै उपभोक्तालाई अखाद्य सामाग्री विक्री गरेको पाइएपछि मानव स्वास्थ्य माथि खेलबाड गरेको भन्दै जरिवाना गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमन गर्ने क्रममा अधिकांश पसलमा अखाद्य बस्तु विक्री गर्ने गरिएको भेटिएको हो । प्रशासनले हालसम्म वालिङ, चापाकोट, भीरकोट, गल्याङ नगरपालिका, अर्जुनचौपारी, हरिनास, फेदीखोला र काली गण्डकी गाउँपालिकाका बजारहरूको अनुगमन गरी नियम विपरीत सञ्चालनमा रहेका पसलहरूलाई कारबाही स्वरूप तीन लाख ७२ हजार २२४ जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिनुभयो ।
चाडपर्वलाई लक्षित गरी हुनसक्ने ठगी तथा कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमनलाई सहर देखि गाउँका पसल सम्म पुर्याएको पौडेलले बताउनु भयो । अनुगमनका क्रममा पसलमा मूल्य सूचि नभएको, म्याद नाघेका समान बिक्री वितरण गरेको, खरिद र बिक्री बिल बिजक जारी नगरेको, दर्ता अनुमति नलिई औषधि पसल सञ्चालन गरेकाहरूलाई जरिवाना गरिएको उहाँको भनाई छ ।
ठुलो मात्रामा म्याद नाघेका खाद्यवस्तुहरू जफत गरी सम्बन्धित पालिकाहरूमा नै नष्ट गरेको र प्रकृति हेरी केहीलाई जरिवाना र केहीलाई पालना गर्नुपर्ने नियमका बारेमा जानकारी गराइएको सहायक प्रजिअ पौडेलले बताउनु भयो ।
बिक्रेताहरूमा लापरबाही एकातिर छ भने अर्कोतर्फ उपभोक्ताहरूले पनि सस्तोमा सामान पाइयो भनेर उठाउने तर मिति गुज्रेको ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्ने प्रशासनको भनाइ छ ।