• ६ जेठ २०८१, आइतबार

दसैँको छुट बजार : छुटका नाममा लुट धेरै

blog

काठमाडौँ, असोज २६ गते ।  दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भिड छ । दसैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदाखानेको पनि भएकाले सबै वर्गका नागरिकको बजारमा भिड लाग्छ । 

लत्ताकपडा र जुत्ताचप्पललगायतका सामान बिक्री गर्ने व्यापारी चाडपर्वमा सबै वर्गका व्यक्तिले आफ्ना परिवार वा छोराछोरीका लागि नयाँ कपडा र जुत्ता किन्ने चलन पहिलेदेखि नै भएकाले त्यस्ता वर्गलाई केही राहत पुगोस् भनेर छुटको व्यवस्था गरेको दाबी गर्छन् । 

असन चोकको कुर्र्ता, टप्स, सारी पसलमा काम गर्ने एक कर्मचारीले नाम नभन्ने सर्तमा भन्नुभयो, “दसैँअगाडि एक हजारमा बिक्री गर्दै आएको कुर्ता अहिले प्रतिपिस आठ सय रुपियाँ बढाई एक हजार आठ सय रुपियाँ पु¥याएर प्रतिपिस २० प्रतिशत छुट भनिएको छ । यो मात्रै होइन, सारी, टप्स र वान पिस पनि त्यस्तै छ ।” 

“बालबालिकाका कपडामा त अझ पहिलेभन्दा दोब्बरभन्दा बढी मूल्य वृद्धि गरिएको छ । ती सामान ‘फिक्स’ मूल्य भनेर सेलमा राखिएको छ, उपभोक्ता भने सेल भनेपछि फ्री पाए जस्तै गरी भिड लागेर पानी पिउन पनि पाइँदैन,” उहाँले थप्नुभयो ।  यस्तै कालीमाटी रोडमा जुत्ताचप्पल पसलमा काम गर्ने विनोद न्यौपानेले सकेसम्म सेल भनेर बिक्रीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिनुभयो । उहाँले भन्नुभयो, “सेल भनेका ठाउँमा धेरै ठुलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनु पर्छ कि गुणस्तरमा समस्या हुन्छ, मूल्यमा गडबड, त्यसैले सकेसम्म त्यस्तोमा सचेत हुनु पर्छ ।” 

भृकुटीमण्डपमा राखिएको जुत्ताचप्पलको छुट मेलामा छोराछोरीसहित उत्साहित भएर जुत्ता किन्न आउनुभएकी लता अधिकारी जुत्तै नकिनी निराश भएर निस्किनुभयो । मेलामा छुटमा जुत्ता पाइन्छ भन्ने समाचार सुनेर आएकी उहाँले आक्रोशित हुँदै भन्नुभयो, “जुत्ता मेलामा के को छु्ट हुनु ? छुटका नाममा लुट रहेछ नि, न राम्रो छ न सस्तो । बजारमा सजिलै एक हजार दुई रुपियाँमा पाइने जुत्ता यहाँ दुई हजार पाँच सय रुपियाँ तोकेर २० प्रतिशत छुट भनेर झुक्याइएको छ ।”

उपभोक्ता अधिकारकर्मीले चाडपर्वका बेलामा बजारमा छुट र सेलका नाममा सीमित व्यापारीले लुट मच्चाउँदासमेत सरकारका नियमनकारी निकाय रमिते बनेको आरोप लगाएका छन् । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले चाडपर्वका बेलामा यस पटक मात्रै होइन, हरेक वर्ष सेल र छुट नाममा साना पसलदेखि ठुला महलसम्मका व्यापारीले आमउपभोक्तामा भ्रम सिर्जना गरेर ठुलो परिणाममा ठगी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “छुट र सेलका नाममा कति लुट हुन्छ भन्ने कुरा त चार वर्ष अगाडि दरबारमार्ग र न्युरोडको जुत्ता कपडा पसलले गरेको कामले पुष्टि हुन्छ ।” 

सरकारका नियमानकारी निकायले मूल्य र गुणस्तरको अनुगमन गर्न नसक्दाको परिणाम भएको तिम्लिसेनाको भनाइ छ । अनुगमन त खाली सानो लगानी गर्ने पसललाई अनुगमन गरेर उपभोक्तालाई झुक्याउने काम मात्रै भएको आरोप उहाँले लगाउनुभयो ।  

नियमनकारी निकायको अकर्मण्यता र कमजोरीको फाइदा व्यापारीले उठाउँदै आएको भन्दै तिम्लिसेनाले भन्नुभयो, “सेलका नाममा उपभोक्ता तीन किसिमबाट ठगिएका हुन सक्छन् । पहिलो, स्टक क्लियरेन्स भन्नेबित्तिकै गुणस्तर समस्या हुन्छ । दोस्रो, मूल्यमा मनपरी, तेस्रो कुरा उपभोक्ताको नयाँ ब्रान्ड खोज्ने अधिकार वञ्चित हुन्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केन्द्रीय बजार अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक मुख्य सचिव वैकुण्ठ अर्यालले अनुगमन गरेर सङ्ख्या बढाउनेतिर भन्दा परिणाम देखिने गरी अनुगमन गर्न  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन समितिलाई निर्देशन दिनुभएको छ । साथै उहाँहरूले उपभोक्ताले सरकारको अनुगमनको अनुभव गर्ने गरी योजना बनाएर अनुगमन गर्नसमेत निर्देशन दिनुभयो । 

सेल र छुटका नाममा नेपाली उपभोक्ता ठुलो ठगीमा परेका छन् तर सरकारको चाडपर्वलक्षित अनुगमन त्यस क्षेत्रतर्फ ध्यान जान सकेको छैन । दसैँ भनेको हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि चाड हो तर पनि बजारमा खुलेआम लुट हुँदासमेत सरकारका नियमनकारी निकाय जहाँ सजिलो छ, त्यही अनुगमन गर्ने गरेको छ ।  

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलवालले विभागको नेतृत्वमा दैनिक १२/१३ वटा टोलीले औसत ४०/४५ पसलको अनुगमन गरिरहेको तर सेल र छुट गरेका पसलमा अहिलेसम्म अनुगमन नभएको स्वीकार गर्नुभयो । उहाँका अनुसार चाडपर्वका बजारमा उपभोक्तालाई आकर्षण गर्न खाद्यवस्तुदेखि लत्ताकपडा, जुत्तासम्मका सामान छुट र सेल भनेर बिक्री गर्ने गरिएको छ तर यस विषयमा अहिलेसम्म विभागको अनुगमन टोलीले मूल्य गुणस्तरबारेमा बुझ्ने काम गरेको छैन । 

महानिर्देशक चिलवालले ती पसलमा व्यापारी के आधारमा छुट दिएका भन्ने विषयमा मूल्य र गुणस्तर दुवैको अनुगमन हुने बताउनुभयो । कुनै पनि व्यापारीले नोक्सान गरेर व्यापार त गर्न सक्दैन, यसमा कि गुणस्तर कि मूल्य एउटामा समस्या छ, कानुनविपरीत व्यापार गर्ने जोकोही कानुनको भागीदार हुनुपर्ने भन्दै उहाँले त्यस्तोमा सामान किन्दा गुणस्तरमा सचेत भएर अनिवार्य बिलबीजक लिन आग्रह गर्नुभयो । सेल र छुटका नाममा कसैले बिलबीजक दिन आनकानी गर्ने, फिक्स भनेर साटफेर नगरिदएमा सिधै विभागको टोल फ्री नम्बर ११३७ मा फोन गरेर गुनासो टिपाउन आमउपभोक्तालाई महानिर्देशक चिलवालले आग्रह गर्नुभयो । उपभोक्ता पनि आफूले खरिद गर्ने वस्तुमा सचेत हुनुपर्ने भन्दै उहाँले सामान बिक्री गरेर व्यापारीले आनाकानी गरेको खण्डमा त्यस्तालाई विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले कार्यस्थलमै तीन लाख रुपियाँसम्म जरिबाना तिराउने जानकारी दिनुभयो ।