• १६ भदौ २०८१, आइतबार

आशा गरिएका तीन चलचित्र

blog

काठमाडौँ, असोज २५ गते । लामो समयपछि नेपाली चलचित्र जगत्मा केही आशा गर्न सकिने परिस्थिति देखिएको छ । यस वर्षका तीन वटा ‘हिट’ चलचित्रका कारण निर्माता निर्देशकहरू आशावादी भएका हुन् । गत भदौमा प्रदर्शन भइसकेको ‘नाङ्गो गाउँ’ र ‘एक भागवत एक गीता’ ले राम्रै बाजी मारेको छ । ‘नाङ्गो गाउँ’ को मौलिक कथा उठान र रोचक प्रस्तुतीकरणका कारण चलचित्रलाई दर्शकले मन पराए । त्यस्तै झरना थापा निर्देशित चलचित्र ‘एक भागवत एक गीता’ ले पनि चलचित्र क्षेत्रलाई केही माथि उठाउन सहयोग ग¥यो । 

दसैँको अवसर पारेर यही असोज २६ गते नारायण रायमाझी निर्देशित ‘परदेशी २’ प्रदर्शन हुँदै छ । यो पनि अधिक आशा गरिएको चलचित्रमध्ये एक हो । ‘परदेशी’ र ‘गोर्खापल्टन’ जस्ता चलेका चलचित्र दर्शकलाई दिइसक्नुभएका निर्देशक रायमाझीले यस ‘परदेशी’ को दोस्रो शृङ्खलाबाट पनि राम्रै चर्चा बटुल्ने आशा गरिएको छ । गायक प्रकाश सपुतको डेब्यु चलचित्र भएको हुनाले पनि चलचित्रबाट धेरै आशा गरिएको छ । चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोसनी कार्कीलगायतको अभिनय रहेको छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि बिदेसिने युवा र सन्तान बिदेसिँदा बुढेसकाल लागेका आमाबुवाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रूपमा चलचित्रको निर्माण गरेका हुन् । आठ वर्षअगाडि प्रदर्शनमा आएको यसको अघिल्लो शृङ्खला ‘परदेशी’ ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । ‘परदेशी २’ प्रति पनि चलचित्रकर्मी एवं दर्शकले ठुलो आशा राख्नुभएको छ ।

फूलपातीको दिनमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘पशुपति प्रसाद २’ : ‘भस्मे डन’ यो वर्षकै प्रतिष्ठित चलचित्र हो । चलचित्र पशुपति प्रसाद’ को दोस्रो शृङ्खला हो । दर्शक चलचित्र कहिले हलमा प्रदर्शन होला भनेर कौतुहलमा हुनुहुन्छ भने चलचित्र प्रदर्शन अगावै विदेशमा समेत बुकिङ हुन थालिसकेको छ । चलचित्रका मुख्य पात्र विपिन कार्कीको अभिनय शैलीमा धेरैको आँखा लागेको छ । अघिल्लो चलचित्रमा जस्तै यसमा पनि विपिनको अभिनय कस्तो होला भनेर दर्शक सोच्न थालिसकेका छन् । दर्शकबाट राम्रो प्रतिव्रिmया पाउनेमा चलचित्रका निर्देशक दीपेन्द्र के खनाल ढुक्क देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अघिल्लो चलचित्र जस्तै यसलाई पनि अवश्य दर्शकले मन पराउनुहुने छ ।” चलचित्रले ‘पशुपति प्रसाद’ को मृत्युपछि पशुपति आर्यघाट क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भस्मे डन’ को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानका लागि गर्ने शक्ति सङ्घर्षको कथामा पेस गरेको छ ।


चलचित्रमा विपिन कार्की, सौगात मल्ल स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापामगर, बिभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ भने अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेतृ वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनुहुने छ । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’ को चरित्र ‘भस्मे डन’ मा केन्द्रित सिक्वेलका रूपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउनुहुन्छ । 

त्यस्तै तिहारको छेको पारेर कात्तिक २४ गते चलचित्र ‘लुट’ का निर्देशक निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ प्रदर्शनमा आउँदै छ  । चलचित्रमा एउटा साधारण मान्छेको जीवनशैली, दायित्व र उतारचढावको कथा छ । देशको परिस्थितिले एउटा सरल जीवन चाहने आममानिसको ‘दिमाग खराब’ गरिरहेको सन्दर्भ चलचित्रमा छ । नेपाली चलचित्रको कथा, पात्रको अभिनय शैली र निर्माणमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ निर्देशन गर्नुभएको बस्नेतले यस पटक तिहारमा अवश्य नै केही नयाँ र भिन्न शैलीको कथा चलचित्र ‘दिमाग खराब’ मा पस्कनुुभएको छ भन्ने धेरैले आशा गरेका छन् । चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, सुमन कार्की, विजय बराललगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रको गीत ‘बिरामी मुलुक’ र ‘झम्के झमाझम’ ले प्रदर्शन अगावै राम्रो चर्चा कमाइसकेको छ ।