• ६ जेठ २०८१, आइतबार

स्वास्थ्यकर्मी हटाइएपछि सेवा प्रभावित

blog

काठमाडौँ, असोज २२ गते । वीर अस्पताल प्रशासनले आइतबारदेखि कोभिड–१९ महामारीका समयमा करार सेवामा राखिएका नर्सलगायत २७६ जना स्वास्थ्यकर्मी हटाएपछि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा प्र्रभावित भएको छ ।

आइतबार तय गरिएका शल्यक्रिया भएनन्। वीर अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड महामारीका बेला राखिएका कर्मचारीलाई तलब भत्ताका लागि बजेट अभाव रहेकाले करार अवधि नथप्न निर्देशन दिएपछि बाध्य भएर हटाएको जानकारी दिएको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निष्कासन गरेसँगै सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको जानकारी दिनुभयो । “उनीहरूलाई हटाउने चाहना होइन तर मन्त्रालयले तलब खुवाउने रकम नभएको र देश आर्थिक मन्दीमा भएकाले हटाउनु परेको हो,” उहाँले भन्नुभयो । 

उहाँले अर्थ र स्वास्थ्य मन्त्रालयले चाहेमा उनीहरूको पदावधि थप्न सकिने बताउनुभयो । ३९६ शय्या सञ्चालन हुँदै आएको वीरमा हाल नौ सय शय्या सञ्चालन भइरहेको छ । वीरमा अझै पनि जनशक्ति अभाव छ । 

डा. पौडेलका अनुसार वीर अस्पतालमा स्वास्थ्यकर्मी हटाइँदा न्युरोलोजी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, डाइलासिस र प्रत्यारोपण सेवा पूर्ण रूपमा बन्द भएका छन्। न्युरो विभागमा कार्यरत १२ जना नर्समध्ये छ जना आइतबारबाट हट्दा न्युरो सेवा पूर्णतया बन्द हुन पुगेको छ । आइसियूका २३ शय्यामा बिरामी राख्न नसकिने भएको छ । नर्सिङ जनशक्ति हटेसँगै युरोलोजी शल्यक्रिया पूर्णतः बन्द हुन पुगेको छ । 

सरकारले वीर अस्पतालको सर्जिकल भवन सञ्चालनकै लागि भनेर ८३१ थप दरबन्दी पनि स्वीकृति गरेको थियो । त्यही स्वीकृत दरबन्दीमा हाल हटाइएका नर्सले रोजगारी पाएका थिए । 

आइतबारै विभागीय प्रमुख, उपकुलपतिसहितका पदाधिकारी बसेर छलफल गरेको बताउँदै अस्पताल निर्देशक डा. पौडेलले सकेसम्म सेवामा कसरी कमभन्दा कम हानि होस् भनेर प्रयास गरिरहेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले करारमा रहेका जनशक्तिलाई आर्थिक कारणले करार अवधि थप्न नसकिएको जवाफ दिनुभयो । 

  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।