• ११ मंसिर २०८१, मङ्गलबार

नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशनको तयारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौं, असोज १९ गते । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नेपालभाषा एकेडेमीले नेवाः सांस्कृतिक ज्ञानकोश प्रकाशन गर्ने भएको छ ।

नेवाः सांस्कृतिक ज्ञानकोशमा नेवार समुदायको सम्पूर्ण विवरण समेटिने छ । नेवाः सांस्कृतिक ज्ञानकोश प्रगति छलफल कार्यक्रममा शुक्रबार नेपालभाषा एकेडेमीका उपकुलपति तथा परियोजना संयोजक मल्ल के सुन्दरले यसको अवधारणा र प्रगतिबारे जानकारी दिनुभयो । यसैगरी, परियोजना व्यवस्थापक अनिल स्थापितले नेवाः सांस्कृतिक ज्ञानकोशको व्यवस्थापकीय प्रक्रिया र संरचनाबारे प्रस्तुत दिनुभयो ।

सो ज्ञानकोशमा प्रमुखरुपमा नेवारहरुको अमूर्त सांस्कृतिक सम्पदा (नेवाः नाट्य, संगीत र चलचित्र), मूर्त सांस्कृतिक सम्पदा, भाषा, साहित्य, शब्दकोष, व्याकरण र लिपि, शिल्प र ज्ञान तथा नेवारहरुको परिचय, आन्दोलन र नगरीय सभ्यता उल्लेख हुनेछ ।

पाँच पुस्तकको रुपमा प्रशासन हुने यस ज्ञानकोशमा तीन हजार पृष्ठ हुने र नेवारहरुसम्बन्धी दस हजार विषय समावेश गरिने बताइएको छ । यसबाहेक पाँच हजार तस्बिर र रेखाचित्र पनि हुनेछन् । एउटा पुस्तक पाँच सय पृष्ठको हुनेछ ।

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले यो प्राज्ञिक परियोजना काठमाडौँ महानगरपालिकाको इतिहासमै गर्वलायक काम हुने भन्दै यसको डिजिटलाइजेसन गर्न पनि आवश्यक भएको धारणा राख्नुभयो । 

यसैगरी, नेपालभाषा एकेडेमीका कुलपति यज्ञरत्न धाख्वाःले नेवाः सांस्कृतिक ज्ञानकोश धेरै विज्ञको संलग्लनता रहेको हुँदा यो नेवार समूहदायको इन्साइक्लोपेडिया बन्ने धारणा राख्नुभयो । 

सो कार्यक्रममा काठमाडौँ महानगरपलिकाका प्रवक्ता नवीन मानन्धरले महानगरपलिकाको चाँडै यस ऐतिहासिक पुस्तक प्रकाशन होस् भन्ने चाहना रहेको भनाइ राख्नुभयो । 

यसैगरी, कामनपा सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्जचना श्रेष्ठ (शाक्य) ले ज्ञानेकोश प्रकासन भएपछि अभिलेखीकरण पनि हुने धारणा राख्नुभयो ।