• ५ पुस २०८२, शनिबार

ढोरपाटनको समृद्धिमा पर्यटन

blog

बागलुङ जिल्लाको सुदूरपश्चिममा अवस्थित ढोरपाटन अहिले आन्तरिक पर्यटकको रोजाइमा परेको छ । करिब २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो पाटन समुद्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । हरिया पहाडको बिचमा समथर पाटन रहेको यो ठाउँ आधुनिक विकासका गतिविधिबाट कम प्रभावित भएको हुँदा यहाँको प्राकृतिक सुन्दरतालाई बचाइराख्न सकिएको छ । सानाठुला गरी २४ वटा मानवबस्ती रहेको यो पाटनमा झन्डै एक हजार सात सय घरधुरी परिवारको बसोबास रहेको छ । यहाँका मुख्य बासिन्दा विश्वकर्मा, मगर, नौथरे भन्ने क्षेत्री समुदाय र तिब्बती शरणार्थी हुन् । यहाँ सन् १९५९ देखि तिब्बती शरणार्थी बस्दै आएका छन् । यहाँका बासिन्दाको मुख्य पेसा खेतीपाती, पशुपालन र वैदेशिक रोजगार हो । पाँच वर्षदेखि यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेसँगै यहाँका बासिन्दा पर्यटन व्यवसायमा पनि संलग्न भएका छन् । यो ठाउँ धार्मिक दृष्टिकोणले पनि उत्तिकै महìवपूर्ण रहेकाले पर्यटन प्रवर्धनमा सहयोग पुगेको छ । पवित्र नदीहरू उत्तरगङ्गा र रुद्रवतीगङ्गाको उद्गमस्थल यसै पाटनमा पर्छ । 

तथ्यहरू सिकार आरक्ष कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा क्रमशः ४८० र ३२० पर्यटकले ढोरपाटनको भ्रमण गरेका थिए । कोरोना महामारीको प्रकोप नियन्त्रण भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या एक्कासि बढेर आव २०७७/७८ मा छ हजार ७०३ जना पुगेकोमा त्यसपछिका वर्षमा यो सङ्ख्या बढ्दै गएर आव २०८१/८२ मा २३ हजार ६९२ पुगेको छ । पर्यटकको सङ्ख्या बढेसँगै पर्यटन पूर्वाधारको निर्माण पनि बढेको छ । यहाँ विगतमा उत्तरगङ्गा ढोरवराहको मेलालाई लक्षित गरी बनाइएका १७ वटा छाप्रे होटल मात्रै थिए भने आव २०८१/८२ सम्ममा होटलको सङ्ख्या बढेर ३७ पुगेको छ । त्यसै गरी पर्यटकको सुविधाका लागि खुलेका रेस्टुरेन्ट, मासु पसल र मोटरसाइकल ग्यारेजको सङ्ख्या आठ पुगेको छ । यहाँको प्रसिद्ध पर्यटकीय घोडा सफारी हो । आव २०७७/७८ मा एक जनाबाट सुरु गरिएको यो व्यवसायमा अहिले ५२ जना व्यक्ति संलग्न छन । पर्यटकको आवागमन बढेसँगै बुर्तिबाङदेखि ढोरपाटनसम्म चल्ने जिपको सङ्ख्या पनि बढेको छ । आव २०७७/७८ मा यस रुटमा छ वटा मात्रै जिप चल्थे भने आव २०८१/८२ सम्ममा यसको सङ्ख्या २८ पुगेको छ । यीबाहेक बढी पर्यटक आउने जेठदेखि असोज महिनामा प्रतिमहिना सरदर ७७५ वटा निजी वा भाडाका सवारीसाधन ढोरपाटन प्रवेश गरेको पाइएको छ । 

आर्थिक कारोबार

ढोरपाटन घुम्न आएका पर्यटकबाट आव २०८१/८२ मा होटल, यातायात, घोडा सफारी र टेन्टेड क्याम्पमा गरी करिब ११ करोड बराबरको आर्थिक कारोबार भएको अध्ययनले देखाएको छ । यहाँ सञ्चालनमा रहेका ३७ वटा होटेलमा २४० वटा सुत्ने कोठा र बेड सङ्ख्या सात सय रहेको छ । यी होटेलमा आव २०८१÷८२ मा नौ करोडभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान छ । यहाँ पर्यटकको आवागमन बढेसँगै ढोरपाटनको प्रवेशद्वार मानिने बुर्तिबाङ बजारले समेत पर्यटकीय फाइदा लिएको छ । ढोरपाटन आउने, जाने पर्यटकको चाप बढेसँगै बुर्तिबाङका होटेल पर्यटकले भरिभराउ हुने गरेका छन् । गत आवमा ढोरपाटन आएका पर्यटकले बुर्तिबाङदेखि ढोरपाटनसम्मको सडक खण्डमा जिप भाडाबापत झन्डै एक करोड २० लाख रुपियाँ खर्च गरेको अनुमान छ । विगतदेखि नै ढोरपाटनमा व्यावसायिक रूपमा घोडा पाल्ने गरिन्थ्यो तर सडक सञ्जालको विस्तार र तिब्बतमा घोडा बिक्री हुन छाडेपछि घट्दै गएको यहाँको घोडापालन व्यवसाय घोडा सफारीका कारण पुनः फस्टाएको छ । गत आवमा यहाँ आएका पर्यटकले घोडा सफारीमा झन्डै ४५ लाख रुपियाँ खर्च गरेको अनुमान छ । यहाँ भ्रमणमा आउने धेरै पर्यटकले घोडा चढेर माथिल्लो भेगका पाटनमा बुकी फूल हेर्न जाने र टेन्टेड क्याम्पमा बास बस्ने चाहना राखेको पाइन्छ । बर्सातको समयमा यहाँका पाटनहरूमा गएर टेन्टेड क्याम्प राख्ने व्यवसायीले करिब २० लाख बराबरको आर्थिक कारोबार गरेका छन् । अहिले ढोरपाटनका १२० भन्दा बढी घरधुरी पर्यटन व्यवसायमा संलग्न छन् । यिनै परिवारका सदस्य र बाहिरका कामदार गरी झन्डै दुई सय जना व्यक्तिले पर्यटन व्यवसायबाट प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यहाँका होटेलमा मासु, घरेलु रक्सी, तरकारी र दुधको माग बढ्दै गएको छ र गाउँका कतिपय व्यक्ति यसको उत्पादनमा संलग्न भएका छन् । 

पर्यटन सामथ्र्य 

पोखरा र लुम्बिनीबाट ढोरपाटनको भौगोलिक दुरी कम हुनाले सडक सञ्जालको विस्तारसँगै यो ठाउँले देशका अन्य दुर्गम क्षेत्रका तुलनामा बढी पर्यटकीय फाइदा लिन सक्ने देखिन्छ । सिकार आरक्षको रूपमा व्यवस्थापन गरिएको यो ठाउँ पर्यटक आवागमन र पूर्वाधार विकासका दृष्टिकोणले प्रारम्भिक अवस्थामा रहेको छ । त्यसैले यहाँको पर्यटन सामथ्र्य कति हो र यहाँ कुन कुन पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा विस्तृत अध्ययन हुन जरुरी छ । आरक्षको अधिकांश भूभाग मानवबस्ती विहिन निर्जन क्षेत्र भएको हुँदा प्रकृतिप्रेमीका लागि यो ठाउँ अत्यन्तै लोभलाग्दो छ । पदयात्रा पर्यटनका लागि प्रसिद्ध अन्नपूर्ण चक्रीय पदयात्रा मार्गको प्राकृतिक सौन्दर्य ह्रास हुँदै गएको एवं मानवीय कोलाहलले गर्दा त्यहाँ पर्यटकको आर्कषण घट्दै गएको हुँदा त्यसको फाइदा ढोरपाटनले लिन सक्ने देखिन्छ । 

यहाँ आउने पर्यटकको मनोरञ्जनका लागि स्थानीय यानीमाया भाकाको लोकगीत र तिब्बती शरणार्थीको नाचगानलाई प्रवर्धन गर्न सकिने सम्भावना छ । अहिले पनि ढोरपाटनको पर्यटनको करिब १५ प्रतिशत हिस्सा उत्तरगङ्गा ढोरबराह थानको रहेको छ । यो थानलाई मुक्तिनाथको भाइको रूपमा चिन्ने गरिन्छ । बेनी बजारबाट ७० किलोमिटर पश्चिममा रहेको यो ठाउँलाई निर्माणाधीन बेनी ढोरपाटन सडकमार्गले जोडेपछि मुक्तिनाथको पर्यटनलाई ढोरपाटनसँग सजिलै जोड्न सकिन्छ । यहाँका फराकिला र समथर हिमाली पाटनमा बर्सातको समयमा फुल्ने बुँकीफूलहरू र ती पाटनमा चरिचरन गर्ने भेडाका बथान ढोरपाटनका पर्यटकीय पहिचान बनेका छन् । यहाँ आउने धेरै पर्यटक यिनै दुई पर्यटकीय वस्तुमा बढी आकर्षित भएका छन् । 

समस्या

ढोरपाटनमा पर्यटन प्रवर्धन गर्न आरक्ष कार्यालयका साथै विभिन्न सङ्घ संस्था र स्थानीय तहले आआफ्नै ढङ्गले प्रयास गर्दै आएका छन् तर यस्ता प्रयास योजनाबद्ध रूपमा सञ्चालन हुन नसक्दा यहाँको मौलिकता बिस्तारै लोप हुँदै जान सक्ने देखिन्छ । आधुनिक विकासको प्रभावसँगै यहाँका पुराना घर, गोठ, परम्परागत पोसाक, चाडपर्व र नाचगान बिस्तारै विस्थापित हुँदै जान थालेका छन् । भेडाबाट उत्पादित ऊनबाट बुनेका काम्लो, कपडा जस्ता स्थानीय उत्पादनको बजारीकरण गर्न सकिएको छैन । अहिले निर्माण गरिएका प्रायः जसो होटेलका भवनको संरचना यहाँको प्राकृतिक स्वरूपसँग मेल खाने किसिमको नहुनाले दृश्य प्रदूषण बढ्दै गएको छ । बुर्तिबाङबाट ढोरपाटन जोड्ने मोटरबाटो स्तरीय नहुँदा यहाँ भ्रमणमा आउने पर्यटक जोखिमयुक्त सडकमा महँगो भाडा तिरेर आउनु परेको छ । यो ठाउँमा द्वन्द्वकालअघि पदयात्रा पर्यटन सञ्चालन गरेको भए पनि उक्त मार्ग र त्यहाँ रहेका काठेपुल भत्केको हुँदा अहिले पदयात्रा पर्यटन सञ्चालन गर्न सक्ने स्थिति छैन ।

यहाँको पर्यटकीय सेवा अन्यत्रको तुलनामा महँगो र स्तरीय नभएको भनि पर्यटकबाट गुनासो हुने गरेको छ । पर्यटकीय सेवा प्रदान गरेबापत कति शुल्क लिने भन्ने कुनै मूल्य सूची लागु गर्न नसक्दा पर्यटन व्यवसायीबिच अस्वस्थ प्रतिस्पर्धा बढेको छ । यहाँ आएका पर्यटकले स्तरीय सेवा पाउन नसक्नु र यहाँको पर्यटन व्यवसाय पर्यटकमैत्री हुन नसक्नुमा तालिमप्राप्त जनशक्तिको अभाव पनि रहेको छ । यहाँ आउने पर्यटकको मुख्य चाहना वन्यजन्तु अवलोकन गर्ने भन्ने हुन्छ तर हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्ज, आरक्षमा सजिलैसँग वन्यजन्तु अवलोकन गर्न नसकिने र यहाँ चिडियाखाना, म्युजियम जस्ता पर्यटकीय वस्तु पनि नभएको हुँदा यहाँ आउने पर्यटकको बसाइ अवधि कम हुने गरेको छ । यहाँको पर्यटन व्यवसायलाई व्यवस्थित गर्न पर्यटन व्यवसायीको कुनै संस्थागत संयन्त्र खडा गर्न सकिएको छैन ।

निष्कर्ष

प्रकृति संरक्षण गरेबापत पर्यटनबाट कसरी आर्थिक लाभ लिन सकिन्छ भन्ने उदाहरण ढोरपाटन बनेको छ । लामो समयदेखि सिकार पर्यटनमा मात्रै सीमित पर्यटकीय गतिविधिमा अहिले विविधीकरण हुँदै गएको छ । सडक निर्माणका कारण देशका अधिकांश पदयात्रा मार्ग छोटटिँदै गएको हुँदा यो ठाउँ भविष्यमा पदयात्रा पर्यटनका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना

 रहेको छ । ढोरपाटनको समृद्धिका लागि यहाँको पर्यटनको दायरालाई थप विस्तार गर्न वन्यजन्तु पर्यटन र पदयात्रामा लगानी बढाउनुपर्ने देखिन्छ ।