गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ४ गते । नेपाली आधुनिक सङ्गीतका सुर शिरोमणि भनेर चिनिने सङ्गीतकार नातिकाजी श्रेष्ठको बिहीबार १०१ औँ जन्मजयन्ती मनाइएको छ । कुटुबहालस्थित उहाँकै निवासमा एक कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाइएको हो । कार्यक्रममा उहाँको फोटोमा माल्यार्पण गरिनुका साथै उहाँले गर्नुभएको योगदानको चर्चा गरिएको थियो ।
कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले उहाँको राष्ट्रियस्तरबाट नै पुरस्कार घोषणा गरिनुपर्ने बताउनुभयो । अहिले स्मृति समाजले नै कार्यक्रम आयोजना गरिरहेको उहाँको भनाइ थियो । यस पटक उहाँको जन्मजयन्तीका अवसरमा निजी क्षेत्र र राज्यबाट विशेष कार्यक्रम आयोजना भइदिए हुन्थ्यो भन्ने उहाँको भनाइ थियो । उहाँले नातिकाजीकी श्रीमती सरस्वती श्रेष्ठको निधन भएको ९० दिन नपुगेको हुनाले हरेक वर्ष प्रदान गरिँदै आएको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कारको घोषणा केही पछि सारिएको पनि जानकारी दिनुभयो । कार्यक्रममा गीतकार राजेन्द्र थापा, प्राज्ञ चेतन सापकोटा, मिलन मोक्तानलगायतले उहाँका बारे आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।