• ५ जेठ २०८१, शनिबार

पोषण तत्वयुक्त बाली उत्पादन हुने कर्णालीमा कुपोषित बढी हुनु दुखद : मन्त्री शर्मा

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री भिमप्रकाश शर्मा । तस्बिर: राजन रावत

राजन रावत

सिमकोट, आसोज १९ गते  । कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले पोषण तत्वयुक्त रैथाने बाली उत्पादन हुने कर्णाली प्रदेशमा अन्य प्रदेशका तुलनामा कुपोषित मानिस धेरै हुनु दखद भएको बताउनुभएको छ । पहिलो पटक हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस मनाउने  कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो । 

मानिसको शरीरका लागि आवश्यक पर्ने पोषिलो तत्व पाईने रैथाने बाली कोदो, फापर, चिनो र कागुनो बढी उत्पादन हुने कर्णाली प्रदेशका हिमाली जिल्लाहरुका मानिस कुपोषित हुनु दुखद भएको मन्त्रि शर्माले बताउनुभयो । मानिस कुपोषित हुनुका मुख्य कारण यी उत्पादनको प्रयोग स्थानीयले नगर्नु र बाहिरबाट आयात भएको खाद्यान्न बस्तुको प्रयोग गर्नु हो ।

उहाँले अझ बढी पोषण तत्व पाईने कोदो बालीलाई कुअन्नमा राखिनु र गरिवले खाने बालीको दर्जा दिएकै कारण यो समस्या आएको बताउनुभयो। कोदोलाई परम्परागत खाने बानीभन्दा यसलाई बिभिन्न परिकार बनाएर उपभोग गर्न सके गरिबी पनि घट्ने र मानिस पनि पोषित हुने उहाको भनाइ थियो ।

त्यसैले किसानले घरघरमा रैथाने बालीका अन्नको परिकार प्रयोगका लागि प्रचार प्रसारमा लाग्ने आबश्यक रहेको बताउदै उहाले यस्ता कार्यक्रमका लागि प्रदेश सरकार सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री शर्माले कर्णाली प्रदेश सरकार रैथाने बालीको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि बिशेष रुपमा लागेको बताउनुभयो । 

कार्यक्रममा प्रदेश सरकारकी जलश्रोत तथा उर्जामन्त्री उर्मिला बिश्वकर्माले कोदो बाली एक परिकार अनेकका रुपमा बुझ्दै यसको बढीभन्दा बढी उपभोग गर्नेतर्फ लाग्नु आबश्यक रहेको बताउनुभयो। कर्णाली प्रदेशमा कोदो बाली राम्रो उत्पादन हुने भएकाले यसलाई बाहिर निर्यात गर्नेतर्फ लाग्न आबश्यक रहेको उहाको भनाइ थियो ।

कर्णाली प्रदेश सभाका सदस्य जुम्कित लामाले रैथाने बाली लोप हुने अबस्था आउन दिन नहुने बताउनु हुदै यसको उत्पादन बृद्धिका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । खाद्य पोषण सुरक्षा र बाताबरण तथा ग्रामीण रुपान्तरणमा कोदो बाली नाराका साथ जिल्लामा दिवस मनाइएको हो ।