• १४ मंसिर २०८१, शुक्रबार

धुलिखेल अस्पताललाई जाइकाको अनुदान

blog

काठमाडौँ, असोज १९ गते । धुलिखेल अस्पतालमा ट्रमा सेन्टर र आकस्मिक उपचार केन्द्र विस्तारका लागि जापान सरकारले दुई अर्ब ९२ करोड रुपियाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । 

अर्थ मन्त्रालयमा बिहीबार एक कार्यक्रमबिच सचिव कृष्णहरि पुष्कर र नेपालका लागि जापानी राजदूत किकुता युताकाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । 

नेपालमा बढदो विपत्, सडक दुर्घटना र त्यसले निम्त्याएको जोखिम न्यूनीकरणका लागि सो सहायता उपलब्ध गराउन लागिएको जाइकाले जनाएको छ । चार वर्षभित्र सबै पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी यो अनुदान दिइएको जनाइएको छ ।

अनुदान रकमले दुर्घटनामा परेका घाइतेको उपचारका लागि आकस्मिक उपचार, शल्यक्रिया सेवा, आइसियु र परामर्श कक्ष निर्माण गरिने सम्झौतामा उल्लेख छ । अनुदान सहायता अन्तर्गत एमआरआई, सिटी स्क्यान जस्ता उपकरण पनि जाइकाले उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । 

जापानी राजदूत युताकाले सो पूर्वाधार निर्माणले नेपालको स्वास्थ्य सेवा उपलब्धता विस्तार हुनका साथै अनपेक्षित आकस्मिक मृत्युदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्करले यस अनुदानले दुर्घटनाजन्य आपत्कालीन जोखिमले निम्त्याउने मृत्यु रोक्न ठुलो सहयोग हुने उल्लेख गर्नुभयो ।