कबिराज घिमिरे
हिले, असोज १८ गते । चाड–पर्वलाई लक्षित गर्दै बिहीबारबाट धनकुटा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी सङ्घको संयुक्त पहलमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
सहायता कक्षले समस्यामा परेका यात्रुलाई सहयोग गर्ने, यात्रुलाई ठगिनबाट जोगाउने लगायतका काम गर्ने जनाइएको छ । यात्रु सहायता कक्षको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले गन्तव्यमा हिँडेका यात्रुलाई ठगीमा पर्नबाट यसले जोगाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले यातायात व्यवसायी, यातायात मजदुर, टोल विकास समितिका प्रतिनिधिहरूले यात्रु सहायता कक्षमा रहेका प्रहरी, यातायात मजदुर र ट्राफिकको सहयोगले ठगिनबाट जोगिएर सही गन्तव्यमा पुग्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।