चन्द्र पन्दाक
ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडित परिवारले बिजुलीको मिटरबक्स निःशुल्क पाउनेभएका छन् । अस्थायी आवासमा बस्दैआएका साँघुका पहिरो पीडित ६५ परिवारले मिटरबक्स निःशुल्क रूपमा पाउने भएका हुन् ।
मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार पहिरोपीडितका लागि राष्ट्रिय प्रसारण लाइनको विद्युत जडान गर्न नेपाल विद्युत प्राधिकरणले मिटरबक्स निःशुल्क उपलब्ध गराउने भएको हो । बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रत्यक्ष भेट गरेसँगै गाउँपालिकाको तर्फबाट मिटरबक्स निःशुल्क उपलब्ध गराउने मागअनुसार स्वीकृति प्राप्त भएको अध्यक्ष वनेमले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोपीडित ६५ परिवारकै लागि नेपाल विद्युत प्राधिकरणले मिटरबक्स निःशुल्क उपलब्ध गराउने भएपछि अब विद्युत जडानको प्रक्रिया सुरु हुनेछ । गाउँपालिकाको अधिकांश वडामा यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगिसकेकाले पहिरोपीडित परिवारहरू बस्दैआएका अस्थायी आवास रहेको क्षेत्रमा विद्युत पुगाउन धेरै समय नलाग्ने उहाँले बताउनुभयो ।
अहिले पीडित परिवारहरू अन्धकारमा बस्नुपर्ने अवस्था रहेकाले विद्युत जडानको प्रक्रिया तत्काल अघि बढाउने उहाँको भनाइ छ । गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोका कारण विस्थापित तथा उच्च जोखिममा परेका परिवारलाई गाउँपालिकाको अगुवाइमा वडा ३ साँघुको सार्वजनिक जग्गामा एकीकृत अस्थायी आवास घर निर्माण गरी राखिएको छ ।
अस्थायी आवासमा बस्नेमा गाउँपालिकाको वडा ४ साँघु ओदक टोलका ६२ र वडा नम्बर ३ का तीन परिवारसमेत ६५ पहिरो पीडित परिवार छन् । गाउँपालिकाले गत असोज ८ गते अस्थायी आवास घर पहिरोपीडितलाई हस्तान्तरण गरेपछि उहाँहरू आवासमा बस्न थाल्नुभएको छ ।