हरिकृष्ण ऐडी
मुगु, असोज १८ गते । गमगढी–बालै सडक झन्डै २ महिनापछि सञ्चालनमा आएको छ । सडक खुलेपछि स्थानीयलाई अवतजावतमा सहज भएको छ । असारको पहिलो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । छायाँनाथ रारा नगरपालिकाको पहलमा डोजर लगाएर सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सुचारु भएको हो ।
लामो समयसम्म सडक बन्द हुँदा छायाँनाथ रारा नगरपालिका वडा ६ र ७ का स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र जिल्ला अस्पताल गमगढीमा बिरामीलाई आउजाउ गर्न कठिन भएको थियो ।
सडक खुलेपछि दैनिक चारपाङ्ग्रे र दुई पाङ्ग्रे गाडी सदरमुकाम आउजाउ गर्न थालेका छन् । सडक खुलेपछि बिरामीलाई बालै गाउँबाट–गमगढी आउजाउ गर्न सहज भएको कोटिला गाउँका स्थानीय खुम्मबहादुर ऐडीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत असार पहिलो साताको वर्षाका कारणले बालै–गमगढी लोकमार्गमा बाढीपहिरो र ढुङ्गाले अवरोध भएपछि उपचारका लागि बिरामीलाई जिल्ला अस्पताल गमगढीमा उपचार गर्न लैजान असहज भएको थियो । अहिले सडक खुलेपछि आउजाउ सहज भएको छ ।’
बालै–गमगढी लोकमार्ग खुलेपछि ‘अब खाद्य वस्तु लैजान सजिलो भएको छ । बालै गाउँमा व्यवसाय गर्दैआएका कृष्ण भामले भन्नुभयो । उहाँले भन्नुभयो, ‘गाउँको कृषिउपज पनि सदरमुकाम र जिल्लाबाहिर जान थालेको छ ।’
उहाँका अनुसार सडक खुलेपछि सुर्खेत र नेपालगन्जका व्यापारी बालै बगरका विभिन्न गाउँमा आएर सिमी, कोदो, फापरलगायत स्थानीय उत्पादन खरिद गर्न थालेका छन् ।
करिब २ महिनासम्म सडक अवरुद्ध हुँदा बालै गाउँको आसपासका विकास निर्माणमा प्रयोग हुने गैर स्थानीय सामग्रीहरु सिमेन्ट, फलामे रड, पाइपलगायत निर्माणका सामग्री ढुवानी गर्न समस्या भएको थियो । सडक सञ्चालनमा लाए लगत्तै वडा –६ को विकास–निर्माणको काम सुचारु भएको स्थानीय दानबहादुर रावलले बताउनुभयो ।
दुई दिन डोजर लगाएर पहिरोले तहसनहस बनेको गमगढी–बालै सडक खुलाउन सफल भएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताउनुभयो । भामले भन्नुभयो, “गमगढी–बालै सडकखण्ड स्तरोन्नति गरी कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारसँग पनि पहल गरिरहेको छु ।”