• १५ मंसिर २०८१, शनिबार

मिटरबक्स ल्याइदिन्छु भनी रकम असुलेर फरार

blog

मिटरबक्स किनेर ल्याइदिन्छु भनेर रुपियाँ असुलेका स्थानीय सुमन बाँस्कोटा ।

शेरबहादुर राई

ओखलढुङ्गा, असोज १८ गते । बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बाँस्कोटा फरार भएका छन् ।

सुनकोशी गाउँपालिका –४ जेरुङघाटका १४ घर परिवारलाई बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर रकम असुलेर बाँस्कोटा छ महिनादेखि फरार रहेको स्थानीयको भनाइ छ ।

बाँस्कोटाले जेरुङघाटका १४ घर परिवारबाट प्रतिपरिवार तीन हजारका दरले ४२ हजार रकम लिएर फरार भएको जेरुङघाटका राजीव राईले बतानुभयो । गत वैशाखमा बास्कोटाले बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर स्थानीयबाट रकम असुलेर लगेको राईको भनाइ छ । 

बाँस्काेटालाई फोन सम्पर्क गर्दा आज ल्याउँछु, भोलि ल्याउँछु, नत्र पैसा फिर्ता गर्छु भनेर ढाँट्दै अहिलेसम्म बेपत्ता हुनुभएको द्रोणहरि राईले जानकारी दिनुभयो । बाँस्कोटाबाट ठगिएका जेरुङघाटका स्थानीयले कानुनी उपचारका लागि केही महिनाअघि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उजुरी लिएर पुगेको बीरबहादुर राईले बताउनुभयो । 

अहिलेसम्म प्रहरीले बाँस्कोटालाई सम्पर्कमा ल्याएर छलफल र कारबाही नगरेको राईले गुनासो गर्नुभयो । यस विषयमा चाँडै बाँस्कोटालाई सम्पर्कमा ल्याएर सत्य, तथ्य छानबिन गरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो । 

जेरुङघाटका रामबहादुर राई, थईन्द्र राई, अच्छेकुमार राई, द्रोणहरि राई, नैनकुमारी राई, वीरबहादुर राई, राजीव राई, मानबहादुर माझिी माउले माझी, यकिन्द्र राई, सरिमाया राई, नरध्वज राई, अदिलमान राई र शेरबहादुर राईलाई बिजुलीको मिटरबक्स ल्याइदिन्छु भनेर बाँस्कोटाले रकम ठगी गरेका हुन् । 

लामो समयसम्म बाँस्कोटाले मिटरबक्स नल्याएपछि १४ मध्ये ११ परिवार आफैले मिटरबक्स जडान गरिसकेका छन् । बाँस्कोटालाई फोन सम्पर्क गर्दा चाँडै जेरुङघाटबासीको रकम फर्काइदिने बताउनुभएको छ । बाँस्कोटाले सुनकोशी गाउँपालिका –१ को साँधी र ढेबुवाका स्थानीयलाई पनि बिजुलीको मिटरबक्स ल्याइदिने भन्दै रकम असुलेर लगेको बुझिएको छ ।