• १२ साउन २०८१, शनिबार

एकता र सामाजिक सद्भाव

blog

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले बहुजातीय, बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त साझा राष्ट्रियताको पहिचान स्थापित गरेको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबिचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात् गरी सामञ्जस्य र सद्भावपूर्ण सामाजिक एकता प्रदर्शन गर्दै आएको छ । संविधानले सबैलाई धर्म र मर्यादा अवलम्बन गर्ने हक सुनिश्चित गरेर बलियो राष्ट्र निर्माणको आधार सिर्जना गरेको छ । धर्मनिरपेक्षताको माध्यमबाट राज्यले प्रत्येक धार्मिक आस्थालाई स्वतन्त्रता दिएको छ तर एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनले निषेध गरेको छ । यस्तो अवस्था रहे पनि पछिल्लो समय मूल नेपाली चरित्र भङ्ग गराइदिने प्रयत्न भएका छन्–धर्म विशेषको नाममा । मानिसको संवेदनशील धार्मिक भावनामा खेलेर राजनीतिक स्वार्थ पूरा गर्न खोज्ने घरेलु तत्व अनि त्यस्तालाई उचालिदिएर नेपाललाई अन्त्यहीन द्वन्द्वमा खसालिदिन चाहने कतिपय बाह्य तत्वका गतिविधि नेपालको ऐतिहासिक सामञ्जस्यपूर्ण, सद्भावयुक्त समाजमा तनाव सिर्जना गर्न लक्ष्यित छन् । यस्ता गतिविधिको पछिल्लो उदाहरण नेपालगन्जमा देखियो । त्यहाँ सामाजिक शान्ति कायम राख्न कफ्र्युसमेत लगाउनु पर्‍यो । विगतमा पनि यस्ता तनावको सहिष्णुपूर्ण व्यवस्थापन गरेको नेपालगन्जका बासिन्दाले फेरि सहनशील र सद्भावपूर्ण नेपाली चरित्र पुष्टि गर्नुपर्ने अवस्था आएको छ । 

सामाजिक सञ्जालमा कुनै व्यक्तिले फरक धार्मिक आस्थाका समुदायलाई लक्ष्यित गरेर लेखेपछि नेपालगन्जमा फरक फरक धार्मिक समुदायले र्‍याली निकाल्ने प्रतिस्पर्धा देखाउन थाले । अतिवादी कथित धर्मगुरुहरूले द्वन्द्व रोक्नुको सट्टा भड्काउने अभिव्यक्ति दिन थाले । यसपछि सम्भावित सामाजिक तनाव रोक्ने उपायका रूपमा प्रशासनले अनिश्चितकालीन कफ्र्यु लगाउनु परेको हो । यसअगाडि पनि मधेश प्रदेशको मलङ्गवा (सर्लाही) अनि कोशी प्रदेशको धरान उपमहानगरपालिकामा धार्मिक समुदायको द्वन्द्व भड्किन नदिन कफ्र्यु आदेश जारी गर्नु परेको थियो । कफ्र्यु जनधनको क्षति रोक्ने अस्थायी उपाय हो, नागरिक रक्षाकै लागि हो । यस्तो अवस्था आउनै नदिने त स्थानीय नागरिकले नै हो । जाति, धर्म, संस्कृति जस्ता संवेदनशील विषयमा ससाना विषय र उत्तेजक कुराले मान्छेको मनस्थिति नै खलबलाइदिन्छन् । त्यसको परिणाम क्रुर जातीय, धार्मिक हिंसा अनि त्यसलाई रोक्ने नाममा निरङ्कुश सत्ताको दुष्चक्रमा सिङ्गो मुलुक फस्न पुग्छ । त्यसैले धार्मिक भावनामा खेल्ने, उत्तेजक अभिव्यक्ति दिने, लेख्ने वा सुन्ने कार्यबाट नागरिक टाढै रहनु पर्छ । त्यो नै सामाजिक एकताको राष्ट्रिय चरित्र कायम राख्ने मूल उपाय हो । 

अत्याधुनिक सूचना प्रविधिको सदुपयोगले विकास हुन्छ, दुरुपयोग गर्न खोज्दा विनाश हुन्छ । पछिल्ला सामाजिक तनावका पछाडि सामाजिक सञ्जालको दुरुपयोग बढी देखिन्छ । एक निमेषमा कुनै घटना, विषयलाई विश्वभर पुर्‍याउने सामाजिक सञ्जालमा एकअर्काप्रतिको विद्वेषपूर्ण अभिव्यक्ति आपत्तिजनक र दण्डनीय हुन्छ । सामाजिक सञ्जालमा आधारहीन कुराहरू राख्ने, जातीय, धार्मिक, सांस्कृतिक भेदभाव वा दुर्भावलाई दुरुत्साहन गर्ने, शान्ति सुरक्षा भङ्ग हुने कुरालाई बढावा दिने वा प्रचलित कानुनले रोक लगाएका कुराहरू प्रकाशन/प्रसारण गर्न नपाइने कानुनी प्रबन्धसमेतको हेक्का हरेक सूचना प्रविधि प्रयोगकर्ताले राख्नु पर्छ । 

भूगोल सानो भए पनि एक सयभन्दा बढी जातजातिको साझा फूलबारी नेपालको पुँजी पहिचान नै विविधतासहितको एकता हो । हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । सबै धर्मप्रति समान आदर गर्ने, कसैप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीति हो– धर्म निरपेक्षता । विविधताको सौन्दर्यलाई राष्ट्रिय भावनामा बदल्न सके मात्र विविधताले सकारात्मक परिणाम दिन सक्दछ । मुलुकको संविधानले यही विविधतालाई सकारात्मक परिणाम दिन सक्ने बनाउन धर्म निरपेक्षता, समावेशिताको सिद्धान्त आत्मसात् गरेको हो । 

विविधतायुक्त समाजमा विभेद र विद्वेषले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिन सक्दछ, प्रतिशोध र द्वन्द्व निम्तिन पनि सक्दछ । यसैले विविधताको यो सम्भावित नकारात्मकतालाई सकारात्मकतामा परिणत गर्न संविधानको मर्म सबै नेपाली नागरिकले आत्मसात् गर्नु पर्छ । राष्ट्रिय एकता बलियो बनाउन सबै धर्म समुदायका नागरिक, बुद्धिजीवी, नागरिक अगुवा, धर्मगुरुहरू लाग्नु पर्छ । अतिवादी सोचको प्राप्ति खति सिवाय केही हुँदैन । जातीय, धार्मिक, सांस्कृतिक संवेदनामा गर्न खोजिने राष्ट्रघाती राजनीतिको घातक परिणामप्रति अबका नेपाली सचेत भइसकेका छन् ।