• १२ साउन २०८१, शनिबार

हाँसोको फोहोरा ‘फुक्रे ३’

blog

काठमाडौँ, असोज १८ गते । हनी, चुचा, लाली, भोली पन्जाबन र गुरुजी । यी पाँच पात्र ‘फुक्रे ३’ का मुख्य कलाकार हुन् । यी पाँचै जनाले हलमा दर्शकलाई पेट मिची मिची हँसाउँछन् । दर्शकका लागि हाँसोको फोहोरा छुटाउन माहिर यी पात्रले अभिनय गरेका पुरानो चलचित्र ‘फुक्रे’ लाई अवश्य धेरैले सम्झन्छन् । यस चलचित्रको तेस्रो सिक्वेलसम्म आइपुग्दा पनि यसका पात्र दर्शकमाझ उत्तिकै लोकप्रिय छन् । पुरानोभन्दा नयाँ कथा र अनेकन ट्विस्टका साथ सबै पात्र यस सिरिजको तेस्रो चलचित्र ‘फुक्रे ३’ मा पनि उत्तिकै बेजोड देखिएका छन् । 

दिल्लीको पृष्ठभूमिमा आधारित चलचित्रको कथामा यस पटक भोली पन्जाबन (ऋचा चड्डा) चुनाव लड्ने र उनलाई चुनाव जित्नबाट रोक्न हनी (पुलकित सम्राट), लाली (मन्जोत सिंह) र गुरुजी (पङ्कज त्रिपाठी) सँगसँगै चुचे (वरुण शर्मा) पनि मैदानमा उत्रिएका छन् । निर्दोष पन्जाबीले भने उनीहरूको यस कार्य अनदेखा गरिदिन्छन् । के उनी यसै चुप लागेर बस्छिन् होला ? या कुनै कठोर कदम चाल्छिन् ? यी सबै कुराको मिश्रण र हास्यव्यङ्ग्यको फोहोराले भरिएको छ, चलचित्र । आफ्नो तनाव र थकान मेटाउनु छ भने दर्शकका लागि साढे दुई घण्टाको चलचित्र हास्य औषधी बन्न सक्छ ।  

चलचित्रका कलाकार सबै पुरानै हुन्, यसको कथा र यसभित्र उत्पन्न हुने परिस्थितिलाई मात्र परिवर्तन गरिएको छ । चलचित्रभित्र पहिलाको भन्दा यस पटक हाँसोको तह अझ उच्च छ । सबैले आआफ्ना चरित्र अनुसार उत्कृष्ट अभिनय गरेका छन् । चुचाले आफ्नो बोलचाल र निर्दोषपनाले आफू र आफ्ना साथीहरूलाई खतरामा पार्छ । अन्य कलाकार आफ्नो बुद्धि र गम्भीर चरित्रले दर्शकको मनमा स्थान बनाउन सफल भएका छन् । चलचित्रमा सबैभन्दा धेरै हँसाउन माहिर देखिएका चुचेको कमेडीमा दर्शक धेरै नै रमाउँछन् भने पण्डितजी अर्थात् पङ्कज त्रिपाठीको अभिनय प्रशंसायोग्य छ । चलचित्रमा अली फैजल पनि छोटो भूमिकामा देखिएका छन् । ऋचा चड्डाले आफ्नो चरित्रलाई पूर्ण न्याय दिएकी छन् । चलचित्रमा दिंग्रा (अमित धवन) लाई भिलेनको भुमिका सुहाएको छ । उनको बोल्ने र धम्की दिने शैलीलाई दर्शकले अवश्य रुचाउनेछन् ।

निर्देशक मृगदीपसिंह लाम्बाले ‘फुक्रे ३’ लाई मनोरञ्जनात्मक बनाउन कुनै कसर छाडेका छैनन् । उनले दर्शकलाई चलचित्र हेरेर हलबाट निस्कँदा पनि यसको दृश्य सम्झेर हाँस्न बाध्य बनाउने चलचित्र बनाएका छन् । चलचित्रमा गीतसङ्गीत र छायाङ्कनमा केही कमीकमजोरी देखिए पनि हास्य विधाले गर्दा दर्शकलाई यसको याद नै आउँदैन ।