काठमाडौँ, असोज १६ गते । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका-५ घर भई हाल टोखा-७ बस्ने अन्दाजी ६२ वर्षीय सनत प्रधान, सिन्धुपाल्चोक सानोसिरुबरी-७ घर भई हाल टोखा-६ सरस्वतीखेल बस्ने गोङ्गबुस्थित नमोबुद्ध गेष्ट हाउस सञ्चालक ४३ वर्षीय लालबहादुर तामाङ र ४३ वर्षीय चिनियाँ नागरिक गेङ्रु रहेका केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधान र तामाङलाई काठमाडौँ टोखाबाट तथा गेङ्रुलाई गए राति स्वयम्भूबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई आजै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइने तयारी भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । रासस