• ३ असार २०८१, सोमबार

जलविद्युत आयोजनाका लागि लगानीको खोजी

blog

हुम्ला कर्णाली जलविद्युत आयोजनाका लागि प्रस्तावित क्षेत्र । तस्बिर :रजनी योगी

रजनी योगी
सुर्खेत, असोज १६ गते । 
रुरु जलविद्युत परियोजनाले लगानी जुटाउन पहल थालेको छ । कर्णाली प्रदेशको हुम्लामा प्रस्तावित दुई वटा जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन पहल थालिएको हो । लगानी सुनिश्चितता गरेर विद्युत विकास विभागबाट उत्पादन अनुमति लिने तयारी आयोजनाको छ ।

दुई वटा आयोजना एकै पटक सञ्चालन हुने भएकाले लगानीकर्ताको खोजी भइरहेको जनाएको छ । हुम्ला कर्णाली–१ जलविद्युत आयोजना र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना रुरु जलविद्युत परियोजनाले सञ्चालन गरिरहेको छ । दुई वटा जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न करिब एक खर्बभन्दा बढीको लागत अनुमान गरिएको रुरु जलविद्युत कम्पनीका अध्यक्ष आशीष सुवेदीले जानकारी दिनुभयो ।

जलविद्युत परियोजनाले एकैसाथ दुई वटा जलविद्युत आयोजना निर्माण गर्न लागेकाले धेरै लगानी एकैपटक जुटाउनु पर्ने भएको छ । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ र तीन सय ३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजना निर्माणका लागि एक खर्ब २० अर्ब लागत लाग्ने अनुमान गरिएको सुवेदीले जानकारी दिनुभयो ।

हुम्ला कर्णाली–१ र हुम्ला कर्णाली–२ जलविद्युत आयोजना निर्माणका लागि लगानी सुनिश्चित गर्न अमेरिकन कम्पनी र जापानी कम्पनीहरूसँग छलफल भइरहेको छ ।

दुई वटै जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको आयोजनाले जनाएको छ । लगानी सुनिश्चितताका लागि अमेरिकन कम्पनी र जापानी कम्पनीहरूसँग छलफल जारी रहेको कम्पनीका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । ठुलो लगानी लाग्ने भएकाले विदेशी कम्पनीसँग लगानी जुटाउन पहल भइरहेको उहाँको भनाइ छ । सुवेदीले भन्नुभयो, ‘‘अमेरिकी कम्पनीहरूसँग दुई चरणमा छलफल भइसकेको छ । जापानी कम्पनीहरू पनि लगानी गर्न उत्साहित बनेका छन् ।’’

लगानी सुनिश्चितताका लागि अन्तिम टुङ्गो भने लागिसकेको छैन । विभिन्न चरणमा भिन्न–भिन्न देशका कम्पनीहरूसँग छलफल भइरहेको बताइएको छ । आयोजना निर्माण सम्पन्न गर्न लगानी जुटाउने कार्य जारी छ । रुरु जलविद्युत परियोजनाले विदेशी कम्पनीसँग सहकार्य गरी दुई वटा आयोजनाका लागि लगानी सुनिश्चितता गर्ने भएको हो ।

चिनियाँ कम्पनीले बिचमै अलपत्र छोडेका आयोजना नेपाली निर्माण कम्पनी रुरु परियोजनाले अघि बढाएको छ । सिचुवान वाङपिङ इनर्जीले करिब पाँच वर्ष पहिले विद्युत विकास विभागबाट एकै पटक दुई वटै आयोजनाको सर्वे अनुमति लिएको थियो ।

एकैचरणमा दुवै योजनाको सर्वे सुरु गरेको चिनियाँ कम्पनीले अध्ययनका काम सकिनै लाग्दा आयोजनाबाट हात झिकेको हो । कम्पनीले पूर्वअध्ययनका काम पूरा गरिसकेको थियो । अन्तिममा आयोजनामा लगानी गर्न नसकिने भन्दै कम्पनी पछि हटेको हो । लगानी धेरै लाग्ने र लाभ कम हुने देखेपछि चिनियाँ कम्पनीले हात झिकेको बताइएको छ ।

सिचुवानपछि हटेपछि अलपत्र परेका योजना निर्माणको काम अब रुरु जलविद्युत परियोजनाले गर्ने भएको छ । २०७९ चैत पहिलो सातादेखि सिचुवानबाट रुरु जलविद्युत परियोजनाले हुम्ला कर्णाली आयोजना ‘टेक ओभर’ गरेको हो । चिनियाँ कम्पनीसँगको आपसी सहकार्यमा आयोजना आफूले लिएको रुरु जलविद्युत परियोजना लिमिटेडले जनाएको छ । चिनियाँ कम्पनीले गरेको अध्ययनलाई नै आधार मानेर लिमिटेडले काम अघि बढाएको हो ।

चार स्थानीय तह प्रभावित

दुई वटै जलविद्युत आयोजना हुम्ला जिल्लामा निर्माण हुनेछन् । आयोजनाबाट चार पालिका प्रभावित हुनेछन् । दुई सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–१ लाई तल्लो परियोजनाको रूपमा नामाकरण गरिएको छ । उक्त आयोजनाबाट हुम्लाको सर्केगाड गाउँपालिका र मुगुको सोरु गाउँपालिकाका केही वडा प्रभावित हुने जनाइएको छ ।

यस्तै तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनालाई माथिल्लो परियोजनाको रूपमा नामाकरण गरिएको छ । उक्त आयोजनाबाट हुम्लाका दुई वटा गाउँपालिका प्रभावित हुनेछन् । सर्केगाड र खार्पुनाथ गाउँपालिकाका केही वडा आयोजनाबाट प्रभावित हुने परियोजनाले जनाएको छ ।