• २२ फागुन २०८२, शुक्रबार

सल्यानमा ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति

blog

मतगणना सुरु गर्ने सहमति गर्दै जिल्ला समन्वय समिति सल्यानमा बसेको सर्वदलीय बैठक। तस्बिरः शंकर केसी

शंकर केसी
सल्यान, फागुन २२ गते ।
सल्यानमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहीबार बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएको छ। मतगणना अघि बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले आज ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।

जिल्ला समन्वय समिति सल्यानको सभाहलमा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार तथा सम्बन्धित सरोकारवालाहरू सहभागी थिए। बैठकमा मतगणना प्रक्रिया, पालना गर्नुपर्ने आचारसंहिता तथा व्यवस्थापन सम्बन्धी विषयमा सहमति जुटाइएको छ।

मुख्य निर्वाचन अधिकृत प्रह्लाद कुमार योगीका अनुसार बैठक सम्पन्न भएसँगै मतगणनाको अन्तिम तयारी सुरु गरिएको छ। सहमतिअनुसार बिहान ११ बजेदेखि मतगणना कार्य सुरु गरिने उहाँले जानकारी दिनुभयो।

यसअघि जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम खलंगा ल्याइसकिएको छ। भौगोलिक विकटता तथा लामो दूरीका कारण केही स्थानबाट मतपेटिका भने बिहान २ः३० बजे मात्र सदरमुकाम आइपुगेका थिए।

मतगणनाका लागि जिल्ला समन्वय समितिको ठूलो हलमा तयारी गरिएको छ। सिसी क्यामेरा जडान, तारजालीको घेरबार तथा सुरक्षा व्यवस्थासहित मतगणनास्थललाई सुरक्षित बनाइएको छ भने मतगणनाका लागि आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको जनाइएको छ।

जिल्लाका ११७ मतदानस्थलका २०५ मतदान केन्द्रबाट करिब ५१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। ती मतदान केन्द्रबाट ८२ हजार २०१ जनाले मताधिकार प्रयोग गरेको विवरण छ। यद्यपि वास्तविक विवरण भने रुजु गर्ने काम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा एक लाख ६२ हजार ४४९ स्थायी मतदाता रहेका थिए।

सल्यानमा प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार चुनावी मैदानमा छन्। राजनीतिक दलका १२ जना र दुई जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।