प्रवीण कुमार शर्मा
रौतहट, फागुन २२ गते । रौतहट निर्वाचन क्षेत्र नं. १ को मतगणना सुरु भएको छ । सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा शुक्रबार बिहान १० बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताउनुभयो । बिहीबार राति भएको सर्वदलिय बैठकले बिहानदेखि मतगणना सुरु गर्ने सहमति भएको थियो ।
मुख्य निर्वाचन अधिकृत केसीले गरुडा वडा नं. १ र गढि़माइ वडा नं. ६ को मतगणना भइरहेको बताउनुभयो । क्षेत्र नं.–१ मा १ लाख ८ हजार ७२६ मतदाता रहेकोमा ६५.४९ प्रतिशत अर्थात ७१ हजार २०३ मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
रौतहट–१ मा नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपा एमालेका अजय कुमार गुप्ता, नेपाली कांग्रेशका अनिल कुमार झा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी र जनता समाजवादी पार्टी नेपालका योगेन्द्र राय यादव मुख्य प्रतिस्पर्धामा हुनु हुन्छ ।