केदार तिमल्सिना
बनेपा, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर २ अन्तर्गत धुलिखेल नगरपालिकाबाट मत गणना सुरु भएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले बिहान पौने ११ बजेबाट क्षेत्र नम्बर २ को धुलिखेल वडा नम्बर– १,२ र ३ नम्बरको मतगणना सुरु गरिएको बताउनुभयो । उहाँले सर्वदलीय बैठक अनुसार जिल्लाको वडागत रुपमा मतगणना सुरु गरिएको बताउनुभयो ।
यसैगरी जिल्लाको प्रतिनिधि सभा–१ को मतगणना मध्यान्ह १२ बजेबाट गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहीबार भएको मतदान कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर–१ मा ५६ दशमलव ५७ प्रतिशत अर्थात् कुल ९१ हजार १२८ मत र प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ६४दशमलव १७ प्रतिशत अर्थात् एक लाख छ हजार २१३ मत गरी जिल्लामा कुल ६० दशमलव ४२ प्रतिशत अर्थात् एक लाख ९७ हजार ३४१ मत खसेको थियो ।
निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर–१ मा ८३ हजार ७७३ पुरुष र ७७ हजार ३२६ महिला गरि एक लाख ६१ हजार एक सय र क्षेत्र नम्बर–२ मा ८३ हजार ७२६ जन पुरुष र ८१ हजार ७८४ महिला गरेर एक लाख ६५ हजार ५११ मतदाता रहेका छन् भने जिल्लामा कुल तीन लाख २६ हजार ६११ मतदाता रहनु भएको थियो ।