• १३ असोज २०८१, आइतबार

प्रणालीविरुद्धको आवाजबाट सचेत हुन आग्रह

blog

काठमाडौँ, असोज १६ गते । प्रमुख राजनीतिक दलका पदाधिकारी तथा प्रभावशाली नेताले व्यवस्था र प्रणालीविरुद्धको आवाजबाट सचेत हुन आग्रह गरेका छन्। राजनीतिक परिवर्तन भए पनि त्यसको प्रतिफल जनताले पाउन नसकेकै कारण व्यवस्थाप्रति वितृष्णा फैलाउने काम भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनीहरूले राजनीतिक दल र नेतृत्व सचेत हुनुपर्ने धारणा व्यक्त गरेका हुन्। 

१५४ औँ गान्धीजयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसर पारेर सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले जुनसुकै दल र जहाँको भए पनि नेपालमा शान्ति र सुन्दर भविष्यका निम्ति सबै दल र नेता एकजुट भएर अगाडि बढ्ने अठोट लिएको बताउनुभयो। 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानको मौलिक हक अन्तर्गत रहेका शिक्षा र स्वास्थ्यजस्ता नागरिकका आधारभूत आवश्यकता सम्बोधन गर्दै आएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “निजी अस्पतालले १० प्रतिशत असहाय र विपन्नलाई निःशुल्क स्वास्थ्योपचार गर्नुपर्ने व्यवस्था कडाइपूर्वक लागू गरेका छौँ। नवीकरण गर्दा त्यसको नियमन हुँदै छ। दुर्गममा स्वास्थ्यकर्मीलाई प्रभावकारी रूपले परिचालन गर्दै छौँ।”

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भन्नुभयो, “नेपाली जनताले आफैँ लेखेको संविधान र अँगालेको सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिने गरी आवाज उठ्दै छ। यसप्रकारको आवाजबारे समयमै सचेत भएर सच्चिनु पर्छ।” नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले गणतन्त्र र दलविरुद्ध विभिन्न प्रकारको असन्तुष्टि देखिएकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले यसप्रकारको असन्तुष्टि राष्ट्रिय एकताको निम्ति खतरा हुने बताउनुभयो। राजनीतिक दल तथा सरकारले न्यायपूर्ण लोकतान्त्रिक समाज निर्माण गर्ने गरी अगाडि बढ्नुपर्ने उहाँको धारणा थियो। 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राजनीतिक दलको विकल्प खोज्नुपर्ने भाष्य निर्माण भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो। हरेक आन्दोलनपछि प्रगति भए पनि जनताका अपेक्षा अनुसार काम नभएकै कारणले असन्तुष्टि उब्जिएको बताउनुभयो। उहाँले भन्नुभयो, “राजनीतिक दलले जवाफ दिनु पर्छ। गठबन्धन राजनीतिक आवश्यकताले बनेको हो। जनताको असन्तुष्टि र राजनीतिक अवस्थाबारे दलले समीक्षा गर्नुपर्ने हुन सक्छ।” 

कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हेना सिङ्गरले बहुजाति, बहुभाषिक र विविधताले भरिएको नेपालले शान्ति स्थापनामा उदाहरण कायम गरेको भन्दै प्रशंसा गर्नुभयो। नेपालका लागि भारतका कार्यवाहक राजदूत प्रशान्त श्रीवास्तव, प्राध्यापक डा. आनन्द आचार्य, भारतको अन्तर्राष्ट्रिय सहयोग परिषद्का महासचिव श्याम पारेण्यलगायतले भारतको स्वतन्त्रता आन्दोलनका अगुवा एवं अहिंसाका पथप्रदर्शक महात्मा गान्धीको जीवनमाथि प्रकाश पार्नुभएको थियो।