काठमाडौँ, मङ्सिर ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्यका लागि पहिले गरिबी अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
उहाँले गरिबी रहँदासम्म समानता नहुने बताउनुभयो । गरिबी हटाउन भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँ भन्नुहुन्छ, “ ‘पहिले गरिबी हटाउनुपर्यो । रोजगारी सिर्जना गर्नुपर्यो। महिलाले पनि रोजगारी गर्न पाउनुपर्यो । त्यसपछि मात्र समानता आउँछ, हिंसाको अन्त्य हुन्छ ।”
महिला हिंसा अन्त्यका लागि स्वदेशमा नै रोजगार सिर्जना गर्नुपर्ने बताउनुभयो । नेपालमा नै रोजगार सिर्जना गर्न सकेमात्र महिला हिंसा अन्त्य हुने बताउनुभएको छ ।
उहाँ भन्नुहुन्छ,“मुलुकमा बेरोजगारीको अवस्था भयावह रहेकाले महिलाहरू रोजगारी खोज्दै विदेश जानुपरिरहेको छ। रोजगारी खोज्दै विदेशमा गएर महिलाहरू हिंसाले प्रताडित हुनुपरेको छ ।”
प्रधानमन्त्री कार्कीले आफू सरकारमा आएयता नियुक्ति गर्दा महिलालाई प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले जहाँ महिलालाई अग्रणी भागमा ल्याउन सकिन्छ त्यहाँ महिलालाई ल्याउने गरेको बताउनुभयो । उहाँले डिजिटल प्रविधिको कारणले पनि महिलाले बढी हिंसाको सिकार हुनुपरेको बताउनुभयो ।