• १२ साउन २०८१, शनिबार

चित्रकलामा युवाको बढ्दो आकर्षण

blog

काठमाडौँ, असोज १४ गते । पछिल्लो समय युवापुस्तामा चित्रकलाप्रति आकर्षण बढ्दै गइरहेको छ । विभिन्न रङले पोतिएको क्यानभासको चित्रकला मन नपर्ने मानिस विरलै भेटिन्छ । अनेकन मान्छेका अनगिन्ति भावनालाई चित्रकलामार्फत उतार्न युवा जमात निकै उत्साहका साथ लागि परेको छ । चित्रकलामार्फत नै समाजको वास्तविकतालाई प्रतिविम्बित गराउन सकिन्छ भन्ने बलियो विश्वासका साथ क्यानभासमा रङ पोत्न युवा जमात तनमय भएर लागेको देखिन्छ । 

पछिल्लो समय चित्रकलाको ज्ञान लिन आउनेको सङ्ख्या पहिलाको तुलनामा धेरै बढेको बताउनुहुन्छ नेपाल ललितकला क्याम्पसका प्राध्यापक रमेश पोखरेल । उहाँ भन्नुहुन्छ, “अहिले यो क्षेत्रमा अवसर धेरै छ त्यसैले पनि यसमा रुचि राख्नेहरू बढेका छन् । एउटै क्षेत्रमा त्यसको भित्रसम्म जाने र गरिखाने विधा बनेको छ कला क्षेत्र ।” उहाँका अनुसार नेपाली युवा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरका चित्रहरू सिर्जनामा तल्लीन हुन थालेका छन् । ती कलाले विश्व बजारमा नै चर्चा पनि कमाउन थालेका छन् ।  आर्ट कलेजहरूको सङ्ख्या पनि थपिँदै गएको छ ।  यसैकारणले पनि युवापुस्ताको आकर्षण यसमा बढ्न थालेको छ । अहिले क्याम्पसमा चित्रकलासम्बन्धी विषय पढिरहेका विद्यार्थीको सङ्ख्या सात सय पुगेको छ ।  चित्रकला मात्र नभएर सङ्गीतकला, मूर्तिकला र ग्राफिक्स पढ्नेहरूको सङ्ख्यमा पनि वृद्धि भएको छ । 

प्राज्ञ सङ्गी श्रेष्ठ पनि चित्रकलाप्रति युवापुस्तामा आकर्षण बढेको सहजै स्विकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसमा लाग्नेहरूको सङ्ख्या बढेको छ, तर आवश्यक योग्यतामा भने अझै निखारता आएको छैन । पहिला चित्रकलाको सन्दर्भ सामग्री जुटाउनै गाह्रो हुन्थ्यो तर अहिले त्यो अवस्था छैन । अहिले प्राविधिक कुराले पनि धेरै सजिलो बनाएको छ ।” आफैँ पनि  विगत ३० वर्षदेखि ललितकलामा अध्ययनरत रहेको बताउनुहुन्छ । पहिला चित्रकला पढ्ने भनेको खाली रमाइलोका लागि मात्र हुन्थ्यो भने अहिले भने त्यसमा परिवर्तन आएको उहाँको भनाइ छ । उहाँले अहिले चित्रकला प्रदर्शनी पनि धेरै हुने गरेकाले बजार निकै राम्रो हुँदै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “स्वदेश तथा विदेशमा उत्तिकै माग भएकाले पनि चित्रकलामा युवाको आकर्षण बढ्दो छ ।” 

बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्नुहुने नेपाल ललितकला क्याम्पसमा अध्ययनरत प्रतीक्षा तिवारी भन्नुहुन्छ, “चित्रकला भनेको आफैँमा निपूण छ र म कलाका विभिन्न विधामा रमेकी छु ।” सुन्दर कलाका लागि निरन्तरताको लगाव र साधना जरुरी हुने उहाँको भनाइ छ । 

अहिले प्रायः आर्ट ग्यालरीहरू खाली हुँदैनन् । त्यहाँ एकल होस् या सामूहिक चित्रकलासम्बन्धी कुनै न कुनै गतिविधि भई नै रहेका हुन्छन् । जसका कारण सुन्दर चित्रहरू बिक्री गर्न कुनै समस्या छैन । राम्रा चित्रले बजार पाइरहेका हुन्छन् ।