• १३ मंसिर २०८१, बिहिबार

एमालेको कर्णालीमा मतदान सुरु हुँदै

blog

अध्यक्षका तीन प्रत्याशी क्रमशः प्रकाश, गुलाब र मीनबहादुर साही । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा            

सुर्खेत, असोज १४ गते । नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनका लागि मतदानको अन्तिम तयारी भएको छ । यस अघि शनिवारका लागि निर्धारित मतदान कार्यक्रम आज (आइतबार) बिहान ८ बजेका सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।  

सहमतिका लागि दिनभर प्रयास गर्दा सफल नभएपछि शनिवार साँझ मतदान गर्ने तयारी  भए पनि सुरक्षाको कारण देखाउँदै आजका लागि तोकिएको हो । एमाले नेता काशी बरालले राति सुरक्षा चुनौती पनि हुन सक्ने भन्दै मतदान आज बिहान ८ बजेबाट मतदान सुरु हुने बताउनुभयो । नयाँ नेतृत्वका लागि आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान कार्यक्रम रहेको नेता बरालको भनाई छ । 

एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिव दुईका लागि सात जनाबिच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालिकोटका मीनबहादुर शाही र कालिकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिएका छन् । गुलाबजंग र मीनबहादुरले प्यानल नै बनाएर चुनावमा भिड्दै छन् भने प्रकाश छुट्टै अध्यक्षमा भिड्दै छन्  ।