• १३ असोज २०८१, आइतबार

किसानको सहजताका लागि तोरी पेल्ने मिल

blog

तोरी पेल्ने मिल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, असोज १३ गते । खोटाङको रावाबेसी गाउँपालिकाले तोरी पेल्ने मिल सञ्चालनमा ल्याएको छ । खाने तेलमा आत्मनिर्भर बन्ने योजना अघिसारेको पालिकाले किसानको सहजताका लागि मिल सञ्चालनमा ल्याएको जनाएको छ ।

तेलमा आत्मनिर्भर बन्न गाउँपालिकाले तोरी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष २०७९–८० देखि चक्लाबन्दी तोरी खेती कार्यक्रम ल्याएको हो । ६ वडा रहेको पालिकाको प्राय सबै ठाउँमा तोरी खेती हुन्छ । कतिपय किसानले सामान्य रूपमा तोरी खेती गर्दैआए पनि व्यावसायिक थिएन । 

गाउँपालिकाले उन्नत जातको तोरीको बीउ वितरण गरेपछि किसानले मनग्य तोरी फलाएका छन् । सो तोरी पेल्न समस्या भएकाले गाउँपालिकाले मिल सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताउनुभयो । ४ लाख ९२ हजार ५३५ रुपियाँको खर्चमा तोरी पेल्ने मिल खरिद गरेर गाउँपालिकाको केन्द्र नजिकै मिल सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठको भनाइ छ । 

गाउँपालिकाको वडा १ कुभिन्डे हरम्टारस्थित कटहरे कृषक समूहका सदस्य माधव पाण्डेले मिल सञ्चालनको जिम्मा लिनुभएको छ । गाउँपालिकाभित्रका तोरी पेल्ने किसानले बजार मूल्यमा प्रतीकेजी पाँच रुपियाँ छुट पाउने छन् । किसानले व्यावसायिक रूपमा तोरी र सूर्यमुखी फूल खेती लगाए पनि पेल्ने मिलको अभाव भएपछि गाउँपालिकाले मिल सञ्चालनमा ल्याएको हो । 

किसानको खेतबारीमा चक्लाबन्दी तोरी खेती लगाएर तेल उत्पादन गर्दै आयातित तेललाई विस्थापित गर्ने लक्ष्यकासाथ गाउँपालिकाले गत वर्ष किसानलाई तोरी र सूर्यमुखी फूलको बीउ वितरण गरेको थियो । तोरी पेलेर तेल निकाल्ने, पेलेर निस्किएको पिनालाई पशु दानाका रूपमा प्रयोग गर्दै पशुपालन प्रवर्धन गर्ने, तोरीबाट गुन्द्रुक बनाउने, महका लागि माहुरीपालन गर्नेलगायतका बृहत् लक्ष्यका साथ तोरी खेती प्रवर्धन कार्यक्रम लागु गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

खाने तेलमा हुने निर्यात खर्चलाई न्युनीकरणगरी तेलमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ १२५ हेक्टर (दुई हजार पाँच सय रोपनी) जग्गामा चक्लाबन्दी तोरी खेती सुरु गरिएको छ ।