• ४ जेठ २०८१, शुक्रबार

मुटुबारे जनचेतना जगाउने उद्देश्यले मध्यपुरथिमिमा सम्पदा पदयात्रा

blog

भक्तपुर, असोज १३ गते । विश्व मुटु दिवसका अवसरमा ‘मुटुको प्रयोग गर्नुहोस्, मुटुका बारेमा थाहा पाउनुहोस्’ भन्ने नाराका साथ मध्यपुरथिमिमा आज तीन घण्टा लामो सम्पदा पदयात्रा (हेरिटेज वाक-२०२३) आयोजना गरिएको छ । 

आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पुकार महर्जनले थिमि शङ्खधर चोकमा रहेको शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गर्दै उद्घाटन गर्नुभयो । उहाँले अर्थतन्त्रको मेरुदण्ड बलियो बनाउने आधार पर्यटन भएकाले यहाँका ऐतिहासिक एवम् पुरातात्त्विक सम्पदा अवलोकनका लागि पर्यटकको सङ्ख्या बढाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । 

लायन्स क्लब अफ भक्तपुर बालकोट, लायन्स क्लब अफ भक्तपुर मेरिगोल्ड, लायन्स क्लब अफ भक्तपुर चाँगुनारायण, लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपल र लायन्स क्लब अफ भक्तपुर नीलकण्ठेश्वरले संयुक्तरुपमा मानव मुटु बचाउने सन्देश प्रवाह गर्ने मुख्य उद्देश्यसहित सम्पदा पदयात्रा आयोजना गरेको लायन्स इन्टरनेसनल डिस्ट्रक ३२५ एच एमडी ३२५ चिफ चार्टर प्रिसिडेन्ट एमजेएफको संयोजक एवं कार्यक्रम संयोजक उद्धव सिलवालले बताउनुभयो ।

सम्पदा पदयात्रा शङ्खधर चोकबाट सुरु भई बालकुमारी मन्दिर, दुई पोखरी, भुलाँखेल, पाटी विहार, सिद्धिकाली मन्दिर, सिद्धिगणेश मन्दिर, नगदेश, बुद्धविहार नगदेश, नीलकण्ठेश्वर, टिगनी, नीलबाराही, बोडे, कमलपोखरी हुँदै बोडेको कुमारी मन्दिर परिसरमा पुगेर विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको थियो । 

कार्यक्रम आयोजक समितिको प्रकाशन तथा प्रचारप्रसार उपसमितिका संयोजक तीर्थराज भट्टले पदयात्राका क्रममा सम्पदा अवलोकनसँगै सम्बन्धित सम्पदाविद्बाट यात्रामा सहभागीलाई प्रत्येक सम्पदास्थलमै सम्पदाको महत्वका बारेमा जानकारी गराएको बताउनुभयो । 

कार्यक्रममा सांस्कृतिक झाँकी, नृत्य प्रस्तुत गरिएको र मुटु रोगबाट बच्ने एवं बचाउनेबारे जनचेतना प्रवाह गरिएको थियो । लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर लायन शम्भु थापाले १५ जिल्लामा ४८ हजार लायन्सका सदस्य रहेको र नेपालका लायनहरुकै सहयोगबाट सङ्कलित रकम समाजसेवामा खर्च भइरहेको बताउनुभयो । 

उहाँले इन्टरनेसनल लायन्स क्लबमार्फत आएको बजेटबाट काठमाडौँका तीनकुनेमा आँखा अस्पताल सञ्चालन गरेको, यसै साताबाट कीर्तिपुरमा अत्याधुनिक प्रविधि जडित ब्लड बैङ्क सञ्चालनमा ल्याउन लागेको, कैयौँ अस्पताललाई प्राविधिक सामग्री हस्तान्तरण गरेको, अस्पताल विद्यालय भवन निर्माणमा सहयोग गर्दै आएको बताउँदै नेपालको सामाजिक विकासको क्षेत्रमा टेवा पुर्‍याउँदै आएको चर्चा गर्नुभयो ।

समाजमा मुटु रोगी बढेको र किशोर तथा युवा वर्गमा पनि हृदयाघातका बिरामी अत्यधिक बढेकाले मुटु रोगबारे सचेतना दिन र ओझेलमा रहेको मध्यपुरथिमिको सम्पदालाई विश्वमाझ उजागर गर्न सम्पदा पदयात्रा गरिएको संयोजक सिलवालले बताउनुभयो । 

पदयात्रामा मन्त्री महर्जनसँगै बागमती प्रदेशसभा सदस्यद्वय शकुन्तला श्रेष्ठ, धनेश्वरी श्रेष्ठ, प्रदेशसभाका पूर्वराज्यमन्त्री रजनी जोन्छे, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठलगायतका जनप्रतिनिधि, विद्यार्थी, लायन्स क्लबका पदाधिकारी एवम् लायनहरुको सहभागिता थियो । रासस