काठमाडौँ, असोज १३ गते । एचआइभी सङ्क्रमितले संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य र शिक्षाको पहुँचबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् ।
स्वास्थ्य लाइभले शुक्रबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीले यस्तो गुनासो गरेका हुन् । रिकभरिङ नेपालका कार्यकारी निर्देशक विष्णु शर्माले एचआइभी सङ्क्रमित नागरिक मौलिक हकबाटै वञ्चित हुनु परेको बताउनुभयो । उहाँले एक लाख ३८ हजार जना कडा खालका लागुऔषध प्रयोगकर्ता भएको बताउनुभयो ।
एचआइभी सङ्क्रमितहरूको राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले एचआइभी सङ्क्रमित नागरिक राज्यले दिने आधारभूत सेवा र अवसरबाट वञ्चित हुनु परेको बताउनुभयो । राज्यले हरेक जाति, भाषा, समुदायलाई कानुनी अधिकार दिएको छ तर एचआइभी सङ्क्रमितमा भएको विभेद, भेदभाव र अधिकारको कुरा कहीँकतै उल्लेख नगरिएको उहाँले बताउनुभयो ।
उहाँले एचआइभी सङ्क्रमित भएकै कारण विद्यालय र सेवा लिन पुगेको स्वास्थ्य संस्थाबाट निष्कासन हुनु परेको दाबी गर्नुभयो । कानुन अभावले गर्दा एचआइभी सङ्क्रमित र यसको जोखिममा रहेका समुदायले भोगेका विभेदको निवारण र त्यसको उपचार पाउने कुराको पहुँच नपुगेको धारणा व्यक्त गर्नुभयो ।