• १४ मंसिर २०८१, शुक्रबार

ललितपुरको महालक्ष्मीको टोली धनकुटाको महालक्ष्मीमा

blog

दुई नगरपालिका प्रमुख एक आपसमा मायाको चिनो साटासाट गर्दै । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे
हिले, असोज १२ गते ।
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख र उपप्रमुखसहितको टोली धनकुटाको महालक्ष्मी नगरपालिका आउनुभएको छ । प्रमुख हरिगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनलगायत विभिन्न वडाका वडाध्यक्ष तथा नगरपालिकाका कर्मचारीसहित २० भन्दा बढी पदाधिकारी महालक्ष्मी नगरपालिका आउनुभएको हो ।

दुई नगरपालिका बीचको भगिनी सम्बन्धलाई थप उचाइमा पुर्‍याउन धनकुटाको महालक्ष्मी नगरपालिकाको निमन्त्रणामा ललितपुरको महालक्ष्मी नगरपालिकाको टोली यहाँ आइपुगेकाे छ । राम्रा कामको अनुभव आदानप्रदान गर्न तथा आफ्ना स्थानमा उत्पादन भएका कृषिजन्य उत्पादन तथा घरेलु उत्पादन आदानप्रदान गर्न सहयोग पुग्ने बताइएको छ ।

भेटघाटको क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठले धनकुटाको महालक्ष्मी नगरपालिकामा उत्पादन भएको आलुलगायत कृषिजन्य उत्पादन आफ्नो पालिकामा लैजान तयार रहेको बताउनुभयो । त्यस्तै यहाँ भएका असल अभ्यास सुशासन र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आफूहरु जहिले तत्पर रहने उहाँको भनाइ छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले धनकुटाको महालक्ष्मीमा उत्पादित कृषि उपजको बजारीकरण र व्यवस्थापनमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिजन्य उत्पादनले पटक–पटक बजार नपाउने समस्या रहेकाले यो सम्बन्ध  अन्त्य हुने बताउनुभयो । कार्यक्रममा ललितपुरको महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन र धनकुटाको महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले आपसी हित, सीप र क्षमता विकासका लागि भगिनी सम्बन्ध लाभदायक हुने बताउनुभयो ।

दुवै नगरपालिकाले २०७८ साल चैत २३ गते स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ बमोजिम ११ बुदाँमा भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता गरेका थिए । ललितपुरको महालक्ष्मी नगरपालिका २०७१ सालमा र धनकुटाको महालक्ष्मी नगरपालिका २०७३ सालमा स्थापना भएका नगरपालिका हुन् ।